‘नेपाल कम्युनिष्ट पार्टीको मूल शक्ति हामी हौं’

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाका नवनियुक्त अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मूल शक्ति आफूहरु भएको दावी गरेका छन् ।

शृङ्खलाबद्ध आन्दोलनको प्रारम्भको दिन माइतीघर मण्डला पुगेका अध्यक्ष नेपालले आफूहरुसँग ७० प्रतिशतभन्दा बढी केन्द्रीय समितिका सदस्यहरु भएको बताउँदै आफूहरु नेकपाको मूल शक्ति भएको दावी गरेका हुन् । ‘नेकपाको मूल शक्ति हामी हौं’, पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, ‘विगतमा कमीकमजोरी गर्नुभएका पार्टी सहयात्रीहरुलाई पनि मेरो आग्रह छ । आउनुस्, तपाईँहरुको कमजोरीलाई स्वीकारर्नुस् । फेरि सँगैं हिँडौँ ।’

यस्तै अध्यक्ष नेपालले प्रधानमन्त्रीसमेत रहेका निवर्तमान नेकपा अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई कुल्चिने काम गरेको बताए । ‘जनताको संविधानलाई कुल्चिने काम भएको छ । संविधानको मर्मविपरीत प्रतिनिधि सभा विघटन गर्ने काम गरिएको छ । प्रतिनिधि सभालाई कुनै पनि तानाशाही तरिकाबाट विघटन गर्न दिइँदैन’, अध्यक्ष दाहालले भनेका छन् ।

यसैबीच अध्यक्ष नेपालले आम नेपालीलाई लोकतन्त्रको पक्षमा आवाज उठाउनु पनि भनेका छन् । लोकतन्त्रको हिमायतीहरुलाई प्रतिनिधि सभाको पुनर्स्थापनामा आवाज उठाउनु आग्रह गरेका अध्यक्ष नेपालले भनेका छन्, ‘बाटो बिराउनु भएकाहरुलाई फर्किन आग्रह गर्छौं ।’

यस्तै अध्यक्ष नेपालले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई कसैले पनि हत्याउन नसक्ने तर्क गरेका छन् ।

प्रतिक्रिया