संसद् विघटनः संवैधानिक इजलास आज, देला त निकास ?

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुँदैछ । सर्वोच्चमा बुधबार भएको सुनुवाइपछि सबै (१२) रिट संवैधानिक इजलासमा पठाइएको थियो ।

बुधबार रिट निवेदकको तर्फबाट भएको बहसपछि यी रिट संवैधानिक इजलासमा लाने निर्णय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले गरेको हो । आज प्रधानन्यायाधीश राणासहित पाँच न्यायाधीशको संवैधानिक इजलासले सुनुवाइ गर्नेछ ।

सवैधानिक इजलासमा एउटा निवेदन दर्ता भएर रहेको छ भने १२ थान बुधबार प्रधानन्यायाधीश राणाको एकल इजलासले पठाएको थियो । यी सबै निवेदनलाई एकै पटक पेशीमा राखेर सुनुवाइ हुने छ । संविधानको धारा ७६ को व्याख्याको विषय भएको भन्दै विघटनविरुद्धका निवेदन संवैधानिक इजलासमा पठाइएको थियो ।

बुधबार रिट निवेदकका तर्फबाट कृष्णप्रसाद भण्डारी, अधिवक्ता गोविन्द बन्दी, शम्भू थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, कञ्चन कृष्ण न्यौपाने बसह गरेका थिए । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते हठात रुपमा संसद विघटनको निर्णय गरे लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेकी थिइन् । संसद भंग भए लगत्तै सर्वोच्च अदालतमा त्यसका विरुद्ध १३ वटा रिट परेका हुन् ।

सुनुवाइमा विपक्षीसँग लिखित जवाफसमेत माग्नुपर्ने भएकाले आदेश आउन केही साता लाग्न सक्ने अनुमान छ । सर्वोच्चमा बुधबार र शुक्रबार मात्र संवैधानिक इजलास बस्ने गरेको छ  ।

प्रतिक्रिया