मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

१. मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : प्रदीप ज्ञवाली
२. ओली नेतृत्वको नेकपाले ‘प्रचण्ड’लाई अध्यक्षबाट हटायो
३. कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना पुष्टि
४. ओली पक्षद्वारा पार्टी विधान संशोधन गरी निर्वाचन आयोगमा दर्ता
५. राजदूत युवराज खतिवडाद्वारा शपथ ग्रहण
६. बालुवाटारमा ‘बादल बोली’–‘नेकपाबाट एउटा गुट अलग भयो’
७. संसद विघटनविरुद्ध कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने
८. दाहाल–नेपाल नेतृत्वको नेकपाद्वारा १४ गते देशव्यापी आन्दोलनको घोषणा
९. नक्कली भ्याट बिल प्रयोग गरी २० करोड ठगी गर्ने तीन कम्पनीविरुद्ध मुद्दा
१०. कोलम्बीयामा पत्रकारको हत्या

मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुन्छ : प्रदीप ज्ञवाली
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका छन् ।

बिहीबार बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक सकिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठन छिट्टै हुने बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो केन्द्रीय समितिको बैठक सकिएपछि पहिलो हाम्रो काम नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।’

ओली नेतृत्वको नेकपाले ‘प्रचण्ड’लाई अध्यक्षबाट हटायो

|पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्वीरः विकास अर्याल, मकालु खबर|

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी अध्यक्षको पदबाट हटाएको छ ।

विधानअनुसार काम नगरेको र पार्टी विरोधी गतिविधि गरेको भन्दै दाहाललाई कारबाही गरिएको हो ।

यसअघि गत बिहीबार बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई पनि कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो ।

यता दाहाल–नेपाल नेतृत्वको नेकपाले भने शृङ्खलाबद्ध आन्दोलनको घोषणा गरेको छ ।

कोरोना संक्रमितको संख्या घट्दै, पछिल्लो २४ घण्टामा ६१३ जनामा कोरोना पुष्टि

सांकेतिक तस्वीर। मकालु खबर।

काठमाडौं । नेपालमा कोरोनाभाइरसका ६१३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५६ हजार ५९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५१० जनाको आरटीपीसीआर परीक्षण गर्दा ६१३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार हाल सात हजार ३८४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा ७३९ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४७ हजार ४०० पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८०८ जनाको मृत्यु दर्ता गरिएको छ ।

हाल सात हजार ३८४ जना आइसोलेशनमा र चार सय जना क्वारेन्टिनमा छन् ।

ओली पक्षद्वारा पार्टी विधान संशोधन गरी निर्वाचन आयोगमा दर्ता

|बानेश्वरको दाहाल–नेपाल भेला। तस्वीरः प्रचण्ड सचिवालय|

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको विधान संशोधन गरेर निर्वाचन आयोगमा दर्ता गराएको छ । पार्टीका आधिकारी दस्तावेज र पत्रहरुमा प्रथम अध्यक्षको मात्रै हस्ताक्षर चल्ने गरी संशाधन गरिएको विधान बिहीबार आयोगमा दर्ता गरिएको स्रोतले जानकारी दिएको छ ।

यसअघि नेकपाका दुवै अध्यक्षको हस्ताक्षर चल्ने व्यवस्था थियो । तर संशोधित विधानबाट दुई अध्यक्ष रहने प्रावधान भने हटाइएको छैन ।

त्यस्तै केन्द्रीय समितिको संख्या पनि ओली पक्षले निर्णय गरेर पुर्‍याएको १११९ लाई कायम गरिएको छ । ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो ।

दाहाल–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।

अहिले ओली नेतृत्वको खेमा र दाहाल–नेपाल नेतृत्वको खेमा दुवै पक्षले आफूहरुलाई आधिकारिक नेकपा भएको दावी गरिरहेका छन् ।

राजदूत युवराज खतिवडाद्वारा शपथ ग्रहण

|राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शपथ ग्रहण गर्दै युवराज खतिवडा। तस्वीरः राष्ट्रपति कार्यालय|

काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका युवराज खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त खतिवडालाई बिहबिार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएकी हुन् ।

बालुवाटारमा ‘बादल बोली’–‘नेकपाबाट एउटा गुट अलग भयो’

|गृहमन्त्री रामबहादु थापा ‘बादल’। फाइल फोटो|

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपाबाट एक गुट अलग भएको बताएका छन् ।

केपी शर्मा ओलीको निम्तोमा बालुवाटारको केन्द्रीय समितिको बैठकमा सहभागी भएका बादलले यस्तो बताएका हुन् ।

बैठकलाई सम्बोधन गरेका बादलले माधव–प्रचण्ड नेतृत्वको नेकपालाई ‘एउटा गुट’को संज्ञा दिएका हुन् ।सम्बोधनका क्रममा बादलले भनेका छन्, ‘जनता दुःखी भएका छन् ।’

बादल पूर्व माओवादी नेता हुन् । उनले आफ्नो नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छाडेर ओलीलाई साथ दिँदै आएका छन् ।

संसद विघटनविरुद्ध कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने निर्णय गरेको छ ।

बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीले गएको आइतबार संसद विघटन गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्रीको उक्त कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएकी थिइन् ।

प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको कांग्रेससहित विभिन्न दलहरूको निष्कर्ष छ ।

दाहाल–नेपाल नेतृत्वको नेकपाद्वारा १४ गते देशव्यापी आन्दोलनको घोषणा
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

जारी केन्द्रीय समितिको बिहीबार भएको भेलाले आउँदो १४ गते देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ ।

आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २,५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ ।

बैठकले पुस १० गते माइतीमण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।

यसैगरी श्रेष्ठका अनुसार ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ ।

नक्कली भ्याट बिल प्रयोग गरी २० करोड ठगी गर्ने तीन कम्पनीविरुद्ध मुद्दा
काठमाडौँ । राजश्व अनुसन्धान आयोगले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि रु २० करोड बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा एक मुद्दा दायर गरिएको छ । विभागले सञ्चालक किशोर चौधरीविरुद्ध रु दुई करोड १४ लाख ३० हजार २३८ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका शिवम प्याकेजिङका सञ्चालक सीतादेवी जयसवालविरुद्ध रु पाँच करोड ८८ लाख ६५ हजार ९१९ र कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीविरुद्ध रु पाँच करोड ३२ लाख १६ हजार १८८ मुद्दा दायर गरिएको छ । उनीहरु विरुद्ध रु १३ करोड ३५ लाख १२ हजार ३४५ बिगो असुली गर्न माग गरिएको छ ।

यस्तै शिवम टे«डर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनीविरुद्ध रु चार करोड ७९ लाख ६९ हजार ४४७ बराबरको बिगो दाबी गरिएको छ । अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनाविरुद्ध रु एक करारेड ८२ लाख ५३ हजार ४६१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

कोलम्बीयामा पत्रकारको हत्या
बोगोटा । संगठित अपराधका बारेमा समाचार लेख्दै आएका एक जना कोलम्बियाली पत्रकारको गोली हानी हत्या गरिएको छ । सोमबार गोली लागेका पत्रकार फेलिपे गुएभेराको बुधबार उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

क्युहुबो नामको समाचार पत्रका लागि रिपोर्टिङ गर्ने पत्रकार गुएभेरालाई देशको दक्षिणपश्चिम स्थित काली भन्ने स्थानमा गोली हानिएको थियो ।

काली नगरका मेयर जर्ज इभान ओस्पिनाले पत्रकारहरुसँग कुरा गर्दै सन् २०१७ देखि नै आफूमाथि हत्याको धम्की दिएको भन्दै गुएभेराले प्रहरीलाई जानकारी गराएको बताएका छन् । मेयर ओस्पिनाले हत्यामा संलग्नका बारेमा जानकारी गराउने व्यक्तिलाई १५ हजार डलर पुरस्कार दिइने पनि घोषणा गरेका छन् ।

प्रहरीले पत्रकार गुएभेराको हत्या रिपोर्टिङको सिलसिलामा नभएको दाबी गर्दै अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रेस फ्रिडम फाउन्डेसनका अनुसार, गुएभेरामाथि सन् २०१७ मा समेत संगठित आपराधिक समूहले सांघातिक आक्रमण गरेका र लगातार हत्याको धम्की दिएका थिए । गुएभेराले सन् २०१८ र यसैवर्षको अगस्टमा पनि आफूमाथि आक्रमणको धम्की दिइएको बताएका थिए ।
कोलम्बीयाका लागि राष्ट्रसंघीय मानव अधिकार आयुक्त जुलिएट डी रिभेरोले उक्त घटनाको निन्दा एवं भत्र्सना गर्दै अपराधीलाई कानुनको दायरामा ल्याउन आग्रह गरेका छन् ।

प्रतिक्रिया