प्रदेश १ का नेकपा जिल्ला इञ्चार्जहरु नेपाल–दहालको पक्षमा

भरत राज शर्मा (गोपाल)-

सुनसरी । प्रदेश नं १ का नेकपा जिल्ला इञ्चर्जहरु नेपाल–दाहालको पक्षमा लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाका प्रदेश १ का १४ वटै जिल्ला र विराटनगर महानगरका पार्टी इञ्चार्जहरु नेपाल दाहाल पक्षमा उभिएका हुन् ।

उनीहरुले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनको कथित घोषणा अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश मात्र नभई नेपाली जनताको घोर अपमानसमेत भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी फुटाउनेसम्मको दुस्साहस गरेको उल्लेख गर्दै पछिल्ला दिनमा प्रदेश १ को पार्टी पंक्तिमा पनि भ्रम उत्पन्न गराउन खोजेकोमा त्यसको विरुद्ध प्रदेश १ का जिल्ला इञ्चार्जहरु नेकपाको सुदृढ एकताको पक्षमा मुलधारमा दृढतापूर्वक उभिएको उद्घोष गरेको छ ।

विज्ञप्तीमा यस्तो अवस्थामा नेकपाका प्रदेश १ का नेता, कार्यकर्ता, प्रदेशवासी र आम जनसमुदायमासमेत फुट परस्त, गैह्रकम्युनिष्ट र परिवर्तन विरोधी गतिविधिबाट भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै त्यस्तो भ्रममा नपर्न अपिल गरिएको छ ।

विज्ञप्ती जारी गर्ने जिल्ला इञ्चार्जहरुमा भास्कर काफ्ले ताप्लेजुङ, इन्द्रबहादुर आङबो पाँचथर, धिरेन्द्र शर्मा इलाम, रविन कोइराला झापा, घनेन्द्र बस्नेत मोरङ, धर्मराज निरौला सुनसरी, हेमराज भण्डारी धनकुटा, जयन्ती राई तेह्रथुम, राजेन्द्र राई संखुवासभा, सुदन किराती भोजपुर, हेमकुमार राई सोलुखुम्बु, यज्ञराज सुनुवार ओखलढ्ङगा, बलदेव चौधरी उदयपुर, समिता कार्की खोटाङ र विराटनगर महानगरपालिका इञ्चार्ज शिवकुमार मण्डल रहेका छन् ।

हस्ताक्षरसहितको संयुक्त विज्ञप्तीमा प्रधानमन्त्री ओलीले पार्टी एकताका वैचारीक–राजनैतिक आधार र भावनाहरु माथि गम्भीर प्रहार गर्दै पार्टीको सर्वस्वीकृत संगठनात्मक सिद्धान्त, विधि र पद्धतीमाथि ठाडो धावा बोलेर पार्टी जनता र मुलुक माथिसमेत अनुत्तरदायी, गैह्रजिम्मेवार र चरम व्यक्तिवादी गतिविधिहरु गर्दै आएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘तमाम विषयमा पार्टी भित्र छलफल चलिरहेकै अवस्थामा असंवैधानिक ढंगले नेपालको हित नचाहने, नेपालमा पुनः अस्थिरता पैदागर्ने वैदेशिक शक्ति केन्द्रहरुको इशारामा नेपालको संविधान, कानुन, जनमत र जनभावनाकोविरुद्ध लोकतान्त्रिक मूल्य मान्यतासमेतको खिलाफमा नेपाली जनताको घोर अपमान गरेको छ ।’

प्रतिक्रिया