महिला साथीको नग्न तस्बिर तथा भिडियो पोर्न साईटमा अपलोड गरी पैसाकाे बार्गेनिङ !

काठमाडौं । महिलालाई यौन उत्पीडन एवं हैरानी दिएको अभियोगमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहीटीबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ पारिजात पथ बस्ने ३६ वर्षीय अस्लम अन्सारी र गोरखा सुलिकोट गाउँपालिका-५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने २० वर्षीय रोलक बहादुर थापा रहेका छन् । अस्लमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतको सहयोगमा हेटौंडाबाट र रोलक बहादुरलाई ललितपुरबाट पक्राउ गरिएको हो ।
अस्लमले मकवानपुर घर भई बैङ्ककको थाईल्याण्ड बस्ने आफ्नै महिला साथीको अर्धनग्न, नग्न तस्बिर तथा भिडियो फेक आईडी तथा ई(मेलबाट पोर्न साईट समेतमा अपलोड गर्नुको साथै ती तस्वीर तथा भिडियोहरु उक्त पोर्नसाईटबाट हटाउनको लागि १ हजार ९८ अमेरिकी डलर माग गरी ब्ल्याकमेल गर्दै यौन उत्पीडन दिने, दुःख तथा हैरानी दिने कार्य गरेको खुल्न आएको छ । साथै रोलकले फेसबुकमा फेक आईडी बनाई आफन्त तथा नजिकका साथीहरूलाई यौनजन्य, अश्लिल सन्देश तथा तस्बिर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भईरहेको साईबर ब्यूरोले जनाएको छ ।








