ओली समूहको प्रदेश १ भेला तथा प्रशिक्षण- ‘प्रधानमन्त्रीलाई पार्टीभित्रैबाट असफल बनाउने खेल भएको दावी’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीको विस्तारसँगै पछिल्लो राजनीतिक घटना र साङ्गठनिक स्थितिबारे प्रदेशगत प्रशिक्षण सुरु गरेको छ । नेकपाले मंगलबार काठमाडौंको गाैशाला स्थिल अनुपम फुडल्याण्डमा आयोजना गरेको एकदिने प्रशिक्षणमूलक भेलामा सहभागी भएकाहरुले प्रतिनिधिसभा विघटन बाध्यात्मक अवस्थामा भएको बताएका छन् ।

प्रदेश १ बाट केन्द्रीय कमिटीमा मनोनित सदस्यहरु तथा जिल्ला कमिटी सदस्यहरुलाई संवोधन गर्दै संसदीय तलका उपनेता सुवासचन्द्र नेङ्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पछिल्लो एक वर्षसम्म काम गर्न नदिएर शीर्ष नेताहरुले अनिर्णयको बन्दी बनाएकोले बाध्य भएर संसद विघटनको निर्णयमा जानु परेको बताए ।

दुई तिहाईको सरकारले स्पष्ट रुपमा पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएपनि पार्टीभित्रैबाट सरकारलाई असफल बनाउने सड्यन्त्र बढि भएको बताउँदै अब नयाँ जनादेश अनुसार मुलुकलाई अगाडी बढाउने कार्यभार आएको र त्यसकालागि सम्पूर्ण कार्यकर्ताहरु तदारुकताका साथ लाग्न निर्देशन दिए ।प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टी स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी भित्रको पछिल्लो राजनीतिक अवस्थाले जनतामा चरम निराशा देखिएपनि सरकारले आन्तरिक तथा बाह्य विषम परिस्थितिमा हासिल गरेका उपलब्धीहरुलाई जनतामाझ लिएर जानुपर्ने र त्यसकालागि कार्यकर्ताहरुले बढि जिम्मेवार हुनुपर्ने बताए । ज्ञवालीले सरकारले गरेका राम्रा कामको भन्दापनि अनर्गल प्रचारबाजीमा आफ्नै नेताहरु लाग्नाले नेकपा विभाजनसम्म जानुपर्ने बाध्यता सृजना भएको जिकिर गरे । पार्टीलाई एकताबद्ध बनाउन तथा विधि विधानमा चलाउन सबै तह र तप्काका नेता कार्यकर्ताहरु उत्तिकै जिम्मेवार रहेको बताउँदै विधि र विधान नमान्नेहरुका कारण अहिलेको परिस्थिति सृजना भएको तर्क गरे । 

स्थायी कमिटी सदस्य मणी थापाले पछिल्लो राजनीतिक परिस्थिति कसरी बन्यो भन्ने कार्यकर्ताहरुलाई बुझाउँदै लोकतन्त्र र जनताद्वारा जारी संविधान जोगाउन कार्यकर्ता अझ बढि जिम्मेवार भएर लाग्नु पर्ने बताए ।नेकपा १ नं. प्रदेश इन्चार्ज देवराज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा बोल्दै पूर्वराज्यमन्त्री भगवती चौधरीले पार्टी एकतालाई जोगाउन शीर्ष नेताहरुले त्यागको राजनीति गर्नुपर्ने तथा लोकतन्त्र र नयाँ राज्य व्यवस्था कार्यान्वयनको चरणमा पार्टीभित्र देखिएको मतभिन्नता दुखःलाग्दो विषय भएको बताइन् । उनले बर्तमान समयमा पार्टी फुटको संघारमा गएर लोकतन्त्र, संविधान र संघियता नै संकटमा परेको तर्क गर्दै लोकतन्त्र, संविधान र संघियता रक्षार्थ शीर्ष तह जिम्मेवार हुन सुझाइन् । 

एक दिने प्रशिक्षणमूलक भेलामा प्रदेश १ का जिल्लाकाे पछिल्लाे अवस्थाका बारेमा सहभागीहरूले अवगत गराएका थिए । भेलामा सोलखुम्बू जिल्ला अध्यक्ष मानदेव राई, पाँचथर अध्यक्ष राजकुमार भण्डारी, ओखलढुङगा अध्यक्ष नानिबाबू बूढाथोकी, भोजपुर अध्यक्ष सुरेन्द्र उदास, सुनसरीबाट केन्द्रीय सदस्यमा मनोनित मुरारी सुवेदी, इलाम अध्यक्ष राम राणा, उदयपुरबाट केन्द्रीय सदस्य मञ्जु चौधरीको सहभागिता थियो । यसैगरी सुनसरीका बुद्धिजिवी बद्री बिशाल पोख्रेल, खोटाङका मुरारीप्रसाद खतिवडा, मोरङबाट केन्द्रीय सदस्य बिनोद ढकाल, खोटाङबाट केन्द्रीय सदस्य बिशाल भट्टराई, तेह्रथुमबाट बिष्णु माया विश्वकर्मा तथा झापाबाट चिन्तन पाठक लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

प्रतिक्रिया