मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

प्रमुख समाचारका शीर्षकहरु :
१. कानून कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली
२. दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर
३. संसदीय दलका नेता बने ‘प्रचण्ड’
४. ७४३ मा कोरोना पुष्टि, ९५२ कोरोना सङ्क्रमित निको भए
५. प्रतिनिधि सभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा
६. केन्द्रीय कमिटीमा मनोनितलाई प्रशिक्षण दिन ओली पक्षले तोक्यो प्रशिक्षक
७. बार्सिलोनाको सानदार जित, मेसीले तोडे पेलेको गोल रेकर्ड
८. व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा हुने
९. प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल
१०.इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन
कानून कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेश अनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छन् ।
रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै आज प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्तन अनुसार विद्यमान कानून र नियममा परिवर्तन हुने क्रम चल्दै आएको पनि बताए ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनका क्रममा नयाँ ऐन निर्माण, विद्यमान ऐन संशोधन, नयाँ नियमावली र कार्यविधि जारी हुने क्रमवृद्धि भएको उल्लेख गर्दै अनुसन्धान, अभियोजन र बहस–पैरवीको प्रभावकारिताले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा बुझायो २८७ केन्द्रीय सदस्यको हस्ताक्षर
असन्तुष्ट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले २ सय ८७ केन्द्रीय सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।
बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोली निर्वाचन आयोग पुगी प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएकोलगायतका निर्णयसहितको हस्ताक्षर बुझाएको हो ।
नेता पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । तीन जना भने उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।
यता ओलीले भने केन्द्रीय कमिटीको बैठकबाट ४ सय ४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी १ हजार १ सय ९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको छ ।
संसदीय दलका नेता बने ‘प्रचण्ड’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बुधबारको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ ।
बुधबार बानेश्वरमा बसेको बैठकले आफ्नो नेतामा सर्वसम्मत रूपमा प्रचण्डलाई चुनेको हो । ‘हामीले चुनेका छौँ’, एक सदस्यले मकालु खबरसँग भनेका छन्, ‘सर्वसम्मतबाटै उहाँ चुनिनुभएको हो ।’
यसअघि दलको नेतामा केपी शर्मा ओली थिए । मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले ओलीलाई कारबाही गरेपछि दलका नेतामा प्रचण्ड सर्वसम्मतीले चुनिएका हुन् ।
प्रचण्डलाई संसदीय दलको नेता बनाउन अध्यक्ष माधवकुमार नेपालले प्रस्ताव गरेका थिए ।
७४३ मा कोरोना पुष्टि, ९५२ कोरोना सङ्क्रमित निको भए
काठमाडौँ । पछिल्लो २४ घण्टामा ९५२ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ४६ हजार ६६१ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा छ हजार ५५९ मा कोरोना परीक्षण गर्दा थप ७४३ मा कोरोना पुष्टि भएको छ ।
योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८०३ पुगेको छ ।
प्रतिनिधि सभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधि सभा विघटनविरूद्ध परेका सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका छन् । विघटनविरूद्ध परेका १२ वटै रिटमाथि सुनुवाइ गर्दै जबराले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् ।
निवेदकमध्येका एक अधिवक्ता लोकेन्द्र वलीका अनुसार प्रधानन्यायाधीश जबराले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउनुपर्ने छ ।
संवैधानिक इजलासमा आगामी शुक्रबार मुद्दाको सुनुवाइ हुनेछ । गत ५ पुषमा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भङ्ग गरेपछि सभा पुनर्गठनको माग गर्दै १२ वटा रिट परेको थियो ।
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : महासचिव पौडेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए।
उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण भएको तर्क दिए । उनले पार्टी एकता नहुँदैदेखि दाहालले सहमति भङ्ग गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले अनेक विकल्प अघि सार्दा पनि सहमति कायम गर्न नसकिएको बताए ।
“प्रधानमन्त्री ओलीले महाधिवेशन वा विशेष महाधिवेशनबाट भए पनि नेतृत्व हस्तान्तरण गर्छु भन्नुभयो”, लुम्बिनी प्रदेश, रुपन्देहीका पूर्वसांसद पौडेलले भने, “तर उहाँहरु महाधिवेशन र विशेष महाधिवेशन दुवैमा तयार हुनु भएन ।” उनले सचिवालयका ७७ बैठक बस्दा पनि पार्टीलाई सही दिशामा लैजान नसकिएको जनाउँदै सचिवालयमा आफूअनुकूल निर्णय गर्न खोज्दा सधैँजसो समस्या देखिने गरेको बताए । सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले सरकारले थुप्रै राम्रा काम गरे पनि नेकपाकै नेताहरुले विरोध गरेर कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाए। उनले अघिल्लो पटकको प्रधानमन्त्रीकालमा ओलीले भारतसँग विद्युत् किनेका कारण मुलुक विद्युतभार कटौतीमुक्त भएको जिकिर गरे।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले चीनसँग पारवहन सम्झौता, हुलाकी सडक–विमानस्थल निर्माण– स्थानीय तहमा अस्पताल निर्माणलगायत थुप्रै राम्रा काम गरेको उदाहरण दिँदै नयाँ भूभाग समेटेर नेपालको नक्शा जारी गरेपछि ओलीमाथि घेराबन्दी थालिएको विचार व्यक्त गरे ।
केन्द्रीय कमिटीमा मनोनितलाई प्रशिक्षण दिन ओली पक्षले तोक्यो प्रशिक्षक
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले नयाँ मनोनित केन्द्रीय सदस्यहरूलाई प्रशिक्षणको तयारी भएको छ । प्रशिक्षणका लागि प्रशिक्षक समेत तोकिएको ओली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
सातवटै प्रदेशका मनोनीत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिन तोकिएका प्रशिक्षकहरूमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यमन्त्रीहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरूङ, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायत छन् ।
ओली पक्षले केन्द्रीय सदस्यमा मंगलबार ५ सय ५६ जनालाई मनोनीत गरेको थियो । १ सय ९६ जना थप्न बाँकी छ ।
व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड जम्मा हुने
काठमाडौं । कोभिड–१९ बाट प्रभावित व्यवसायीको व्यवसायलाई निरन्तरता दिने उद्देश्यले कार्यान्वयनमा ल्याइएको व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा रु १५ अर्ब ५० करोड जम्मा हुने निश्चित भएको छ ।
अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट रु पाँच अर्ब, नेपाल राष्ट्र बैंकबाट रु तीन अर्ब, नागरिक लगानी कोषबाट रु दुई अर्ब र निक्षेप तथा कर्जा सुरक्षण कोषबाट रु दुई अर्ब जम्मा हुने यकिन भएको छ ।
यस्तै नेपाल पुर्नबीमा कम्पनी लिमिटेडबाट रु एक अर्ब, कर्मचारी सञ्चय कोषबाट रु एक अर्ब, नेपाल सरकारबाट रु एक अर्ब र राष्ट्रिय बीमा संस्थानबाट रु ५० करोड जम्मा हुनेछ ।
अर्थ मन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुङ्गानाका अनुसार शोधभर्ना खातामा रु ३० अर्बको प्रतिबद्धता प्राप्त भएको छ ।
बार्सिलोनाको सानदार जित, मेसीले तोडे पेलेको गोल रेकर्ड
स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल भल्लाडोलिडमाथि सहज जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले भल्लाडोलिडमाथि ३९० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा क्लेमेन्ट लेंगलेट, मार्टिन ब्रेथवैट र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।
मेसीले यस खेलमा गोल गरेसँगै आफ्नो क्यारियरमा ६४४ गोल गरेका छन् । मेसीले योसँगै ब्राजिलका महान फुटबलर पेलेको गोलको किर्तिमान तोडेका छन् । पेलेले आफ्नो क्यारियरमा सबै प्रतिष्पर्धामा ६४३ गोल गरेका थिए ।
मेसीले पेलेको रेकर्ड तोडेपछि आफुले खेल्न शुरु गर्दा कहिल्लै पनि रेकर्ड तोडछु भनेर नसोचेको बताउदै, पेलेको रेकर्ड तोड्ने त झन् नसोचेको बताएका छन् । साथै यस खेलको जितपछि बार्सिलोनाको अवे खेलमा पराजयको सिलसिला पनि रोकिएको छ ।
यो जितपछि बार्सिलोनाको ला लिगामा १४ खेलमा २४ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै रियल भल्लाडोलिडको भने १५ खेलमा १४ अंक रहेको छ र लिगमा १८औ स्थानमा रहेको छ ।
इजरायलमा संसद विघटन, दुई वर्षमा चौथो निर्वाचन
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद विघटन गरेको छ । संसद भंग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो ।
इजरायल दुई वर्षमा चौथो चुनावको लागि अग्रसर हुने भएको छ । सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सिएएनएनले जानकारी दिएको छ ।
नेतन्याहू र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनले २०२० को बजेट स्वीकृत गर्न मध्यरात्रको म्याद गुमाएपछि संसदको स्वतः भंगलाई बाध्य तुल्याएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको गठबन्धनका सांसदहरुले सरकारको पतनका लागि एक अर्कालाई दोष दिएका छन् ।
कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहूलाई पुनः चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहूमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ ।
नेतान्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लू एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् २०२० को बजेट पारित गर्न मध्यरात्रिसम्म प्रयास गरेपनि सफल हुन सकेको थिएन ।








