‘प्रतिनिधि सभा विघटन भएको छैन’

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई चिरा भइसकेको छ । तर, आधिकारिक घोषणा हुनु भने बाँकी नै छ । खासगरी गत ५ पुषमा नेकपा पहिलो वरीयताका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूखुशी प्रतिनिधि सभा विघटन गरेपछि विकसित भएका राजनीतिक सङ्कटका कारण नेकपा ‘फुट’को सङ्घारबाट छिरेको अनुमान जोकोहीले पनि गर्छ । त्यसअघि आन्तर–कुन्तर केही समस्याहरु भए पनि अहिले झ्वाट्ट नियाल्दा ‘फुट’को कारक प्रतिनिधि सभा विघटन नै हो भनेर नकार्न कसैले सक्दैन ।

त्यसो त स्पष्ट रुपमा दुई भागमा विभक्त नेकपा अहिले आ–आफ्नै सङ्घर्ष चरणमा छन् । मंगलबार दुवै पक्ष (दाहालनेपाल–ओली)ले आ–आफू निकटका केन्द्रीय समिति सदस्यहरुलाई बालुवाटार र बबरमहल बोलाइ केन्द्रीय समिति बैठक बसायो । जहाँ, दुवै पक्षले आ–आफ्नो मनखुशी निर्णयहरु पनि गरे । बिहान ९ बजे बालुवाटारमा बैठक बोलाएका ओलीले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गरी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई जिम्मेवारी दिने, ४४१ सदस्यीय केन्द्रीय समितिमा ५५६ जना थपेर १,११९ जना पुर्याउनेलगायतका निर्णयहरु गरे भने यता बबरमहलस्थित कार्की बैङ्क्वेटमा दिउँसो १ बजे बैठक बोलाएका दाहाल–नेपालले ओलीलाई अनुशासनको कारबाही गर्दै अध्यक्ष पदबाट बर्खास्त गर्ने, उही वरीयतामा रहनेगरी वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउनेलगायतका निर्णयहरु गरे ।

तर, यससँगै दुवै पक्षले आधिकारिकताको कुरा पनि उठाएका छन् । यसपछि हच्किएका दुवै पक्षले आजसम्ममा आ–आफ्नो निर्णयसँगै केन्द्रीय सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगमा पुर्याइसकेका छन् । अब यसपछिको परिणाम भने हेर्न बाँकी नै छ ।

तर, कतिपय कानूनविद् तथा संविधानविद्हरुले भने प्रतिनिधि सभा विघटन गर्नु नै नहुने तर्क गर्छन् । उनीहरुको तर्क छ, ‘संविधानले दिँदैन ।’ फलतः अहिले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्धको १२ वटा रिट परेको छ । जुन, प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा पठाइसकेका छन् र आउँदो शुक्रबार सुनुवाइ हुँदैछ ।

प्रतिनिधि सभा विघटन भइसकेको छैन
ठीक यत्तिनै बेला नेकपा नेता हरिबोल गजुरेलले पनि प्रतिनिधि सभा विघटन भइनसकेको बताएका छन् । प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार नभएको बताउँदै नेता गजुरेलले अहिले पनि प्रतिनिधि सभा यथावात् नै रहेको बताए ।

मकालु खबरसँग कुराकानी गर्दै नेता गजुरेलले भनेका छन्, ‘प्रतिनिधि सभा विघटनको अधिकारै छैन संविधानमा । प्रधानमन्त्रीले कसरी प्रयोग गर्नुभयो । मलाई थाहा छैन । यो असंवैधानिक हो ।’

यस्तै नेता गजुरेलले आफूलाई संसदीय दल तथा कुनै पनि पार्टी कमिटीको बैठक छलफल भएको थाहा नभएकोसमेत बताएका छन् । ‘अन्य दलसँग पनि छलफल भएको म जान्दिनँ । त्यसैले अहिले पनि संसद (प्रतिनिधि सभा) यथावत् नै छ’, नेता गजुरेलले भनेका छन् ।

यसैबीच नेता गजुरेलले प्रधानमन्त्रीको गल्ती राष्ट्रपतिले सच्याउनुपर्ने भए पनि त्यस्तो हुन नसकेको बताएका छन् ।

गजुरेल अन्तिममा ‘प्रचण्ड’तिर
गजुरेल पूर्वमाओवादी नेता हुन् । पूर्वमाओवादी नै भए पनि गजुरेलले केही समय आफ्नो नेता प्रचण्डको साथ छाडेको विश्लेषण गरिँदै आएको थियो ।

केही दिन अघिसम्म आफू कुनै पनि गुटमा नरहेको बताउँदै आएका नेता गजुरेलले निर्णयक अवस्थामा प्रचण्डलाई नै साथ दिएका हुन् ।

ओलीको कदमले समस्याको समाधान नभएको जिकिर गरेका गजुरेलले भनेका छन्, ‘म पार्टी एकताको लागि अन्तिमसम्म प्रयासरत थिएँ ।’

प्रतिक्रिया