देशभक्तिमा के तागत हुन्छ, त्यो हामी देखाउँछौँ- प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आँधी तुफानका रुपमा राष्ट्रिय राजनीतिलाई अगाडि बढाउने बताएका छन् ।
मंगलबार बालुवाटारमा आयोजित आफ्नो समूहको केन्द्रीय समितिको बैठकमा प्रम ओलीले यस्ताे बताएका हुन् । आफ्नो समूहले राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्ने उनकाे भनाइ छ ।
बैठकमा उनले भनेका छन्- ‘आँधी तुफानका रुपमा हाँकेर राजनीतिलाई अगाडि लिएर जाँदैछौँ । हामी राजनीतिमा सम्पूर्ण ढंगले समर्पित भएर काम गर्छौं । र, हामी सही विचारको, सही उद्देश्यको तागत दुनियाँलाई देखाउँछौँ ।’
यस्तै उनले एकताको बलको, एकताबद्ध सक्रियताको तागत देखाउने समेत दाबी गरेका छन् । उनले भनेका छन्- ‘देशभक्ति, राष्ट्रवाद, राष्ट्रिय स्वाभिमानमा के तागत हुन्छ ? त्यो हामी देखाउँछौं । स्वच्छता कायम गर्ने, भ्रष्टाचार नियन्त्रण र निर्मूलन गर्ने हाम्रा नीति र व्यवहारको तागत के हुन्छ, हामी देखाउँछौँ ।’
प्रम ओलीले सरकारका राम्रा कामहरुलाई समेत सकेसम्म ओझेलमा पार्ने, बंग्याई टिङ्ग्याई बिरूप बनाएर कुप्रचार गर्ने, विपक्षी र विरोधीलाई समेत उछिलेर सरकारलाई बदनाम गर्ने कार्य संगठित र योजनाबद्ध ढंगले भइरहेकाे समेत बताए ।








