एक नेकपा–दुई छुट्टाछुट्टै केन्द्रीय समिति बैठक, ‘एकता’को अकालमै मृत्यु

काठमाडौं । मंगलबार सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई छुट्टै केन्द्रीय कमिटीको बैठक बोलाएको छ । गत ५ पुषमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्रीसमेत रहेका पहिलो वरीयताको अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे नै आफूनिकटका केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । तर, बैठक अझै बस्न सकेको छैन । नेताहरु बालुवाटार पुग्ने क्रम जारी रहेको ओलीनिकट एक सदस्यले जानकारी दिएका छन् ।
यस्तै यता असन्तुष्ट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ माधवकुमार नेपाल पक्षले पनि आफ्नो छुट्टै बैठक बोलाएको छ । बैठक बबरमहलस्थित कार्की बैङ्क्वेटमा दिउँसो १ बजेका लागि बोलाइएको प्रचण्ड सचिवालयले जनाएको छ ।
एकअर्कालाई कारबाही गर्दै ओली–दाहाल
नेकपाका दुई अध्यक्षले एकअर्कालाई अनुशासनको कारबाही गर्ने बताउँदै आएका छन् र तीव्र तयारीमा समेत जुटेका छन् ।
कारबाहीकै लागि ओली–दाहालले आज छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठकसमेत बोलाएका छन् । यसअघि गत ५ गते बसेको दाहाल पक्षीय नेकपा स्थायी कमिटीको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
त्यसपछि ओलीलाई कारबाही गरेको पत्र लिएर सोमबार लिलामणि पोखरेल निर्वाचन अयोग पुगेका थिए ।
तर, यता ओलीले भने दाहाल–नेपाल पक्षले पत्र पुर्याउनुभन्दा पहिले नै आफूले कारबाही गरेको पत्र निर्वाचन आयोग पुर्याइसकेको दावी गरेका छन् । ओली निकट एक केन्द्रीय सदस्यका अनुसार दाहाल–नेपाल पक्षले भन्दा ओली पक्षको पत्र अगाडि पुगेको हो ।
कारबाहीबारे आजको बैठक थप बोल्नेछ ।
पार्टी एकता ३२ महिनामै मर्यो
अब योसँगै नेकपा दुई चिरा पर्ने निश्चित छ । विसं २०७४ असोजमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन संयुक्त रुपमा लड्नेगरी गठबन्धन गरेका दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीच विसं २०७५ जेष्ठ ३ गते एकता भएको थियो र भएका थिए नेकपा ।
जसलाई चीन र भियतनामपछि एसियाको तेस्रो शक्तिशाली कम्युनिष्ट पार्टी मानिँदै आएको थियो । यद्यपि, चीन र भियतनामका कम्युनिष्ट पार्टीले राजनीतिक क्रान्तिपछि सत्ता कब्जा गरेका थिए भने नेकपा भने आवधिक निर्वाचनमार्फत् झण्डै दुईतिहाइ बहुमत गरेर शक्तिशाली ठहरिएको थियो ।
तर, नेकपा पार्टी एकताको बाँकी काम नै पूरा नगरी फुट्ने तरखर गरिरहेको छ ।








