फुस्रे बजारको इतिहास झल्किने मूर्तिहरू अनावरण (फाेटाे फिचर)

- भरतराज शर्मा (गोपाल)
सुनसरी । कुनै समयमा पूर्वाञ्चलकै एक प्रमुख व्यापारीक केन्द्रको रुपमा स्थापित रहेको धरान-१३ स्थित फुस्रे बजारको इतिहास जिवित राख्नका लागि फुस्रेका स्थानीय युवादेखि जनप्रतिनिधिसम्म लागि परेका छन् ।

वि.सं. २०३५ साल अघिसम्म धरान–धनकुटा सडक विस्तार नहुँदा पूर्वाञ्चलकै व्यापारीक केन्द्रको एक मात्र विकल्पको रुपमा फुस्रे बजारलाई लिइने गरिन्थ्यो । त्यसबेला पूर्वका आम मानिसहरुलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु नुन, तेल, मट्टीतेल, चिनी खरिद गर्न आफूसँंग भएका घ्यु, चिराईतो जस्ता औषधीहरु बिक्री गर्न र किनमेल गर्नका लागि धरानको फुस्रे बजार आउने गर्थे ।

फुस्रेको बाटो भएर चिउरी बासको बाटो हुँदै मानिसहरु धरान–धनकुटा ओहोर-दोहोर गर्थे भने त्यति बेला पहाड र तराई जोड्ने बाटोको केन्द्रबिन्दु नै फुस्रे बजार बनेको थियो ।
यसै बजारको एक कुनामा रहेको खाली जग्गामा जेष्ठ नागरिक विश्रामालय तथा फुस्रे ऐतिहासिक प्रतिमा स्थलको सौन्दर्यता झल्काउने गरी मूर्ति तथा जलाधार मोडलको अनावरण गरेसँगै यस प्रकारको कामको थालनी भएको फुस्रे चौक सौन्दर्यकरण निर्माण तथा उपभोक्ता समितिका अध्यष गौतम श्रेष्ठले जानकारी दिए ।

उनले आज (मंगलबार) प्रदेश नं. एकका सभामुख प्रदिक कुमार भण्डारीको प्रमुख आतिथ्यतामा सो सौन्दर्यकरण गर्ने मूर्तिकलाकाे अनावरण गरिएकाे बताए । श्रेष्ठका अनुसार धरान–धनकुटा जोड्ने सडक जिरोप्वाईन्टबाट मोडिएर गएपछि फुस्रे बजार सुनसान बनेको थियो । तिनै सुनसान रहेको फुश्रे बजारको इतिहास जोगाउन, फुस्रेमा फेरी मानिसहरुको चहलरपहल बढाउन अहिले स्थानिय युवादेखि धरान १३ का जनप्रतिनिधिहरु समेत कम्मर कसेर लागि परेका छन् ।

धरान १३ फुस्रे बजारको इतिहास झल्काउन तथा जिवित राख्नका लागि अहिले त्यो बेलामा भएका गतिविधिलाई झल्काउने पाँचवटा विभिन्न प्रतिमुर्तिहरु समेत राखिएको छ । जसमध्ये फुस्रेलाई पूर्वाञ्चलकै व्यापारीक केन्द्रको रुपमा स्थापना गर्ने तत्कालिन राम साहु (स्व. रामजी श्रेष्ठ) ले पैसा गन्दै गरेको पाँच फिट अग्लो मूर्तिको निर्माण गरिएको छ ।

यी मूर्तिहरु फुस्रे चौकमा रहेको ज्येष्ठ नागरिक विश्रामलयमा राखिएको उनले जानकारी दिए ।
१५ लाखको लागतमा सम्पन्न भएको सो मूर्ति निर्माणका लागि आम उपभोक्ताको तर्फबाट ३ लाख र धरान उप–महानगरपालिकाबाट १२ लाखको बजेट विनियोजन गरिएको थियो । मूर्ति निर्माण मूर्तिकार एवं कलाकार धिरज राईले ३ जना सहयोगीका साथमा निर्माण गरेका हुन् ।









