लिम्बुवान राष्ट्रिय मोर्चाद्वारा ओली कदमको घोर विरोध

भरतराज शर्मा (गोपाल)-
सुनसरी । लिम्बुवान राष्ट्रिय मोर्चाले संविधान सभा विघटन सम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको घोर विरोध गरेको छ ।

आज मोर्चाका कोन्द्रीय समिति संयोजक मुकसामहाङ मेन्याङवो मुकेश तथा सहसम्योजक त्रिवेणी चोम्वाङ द्वारा जारी गरिएका प्रेस विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको घोर विरोध तथा भर्सना गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘ हाम्रो लिम्बुवान राष्ट्रिय मोर्चा, नेपाल हिजो २०७७ पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओली द्वारा गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश, पश्चगामी र जनभावना एवं राजनीतिक स्थिरता विरोधी स्वेच्छाचारी कदम ठहर गर्दै त्यसको घोर विरोध एवं भत्र्सना गर्दछ ।’

यसले नेपाली जनताले ठुलो बलीदानपूर्ण संघर्षद्वारा प्राप्त गरेको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नाङ्गो प्रहार गरेको पनि विज्ञप्तीमा उल्लेख छ । संविधानतः संविधानको रक्षा गर्ने जिम्मेवारीमा समेत रहेका सम्माननीय राष्ट्रपतिबाट यो असंवैधानिक कदमलाई स्विकार गरिनु पनि गम्भीररुपमा आपत्तिजनक रहेको पनि उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधान र लोकतन्त्र पक्षधर शक्तिहरुका लागि यो कदम स्वीकार्य हुन सक्तैन। तसर्थ हाम्रो मोर्चा यसलाई पूर्णरुपमा अस्विकार गर्दछ र यसको राजनीतिक रुपमा कडा प्रतिवाद गर्दै कानूनी उपचार समेत खोजी छ ।’

त्यस्तै मोर्चाका नेता, कार्यकर्ता र समर्थकहरूलाई संविधानको प्रावधान, मूल्य, मान्यता एवं मर्म विपरितको यस असंवैधानिक एवं निरङ्कुश कदमको विरोध गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जुट्न आह्वान पनि गरेको छ ।

मोर्चाले संसद भित्र र बाहिरका सबै राजनीतिक पार्टीहरु , नागरिक समाज, लोकतन्त्रपक्षधर शक्तिहरु र आम जनसमुदायलाई यो असंवैधानिक एवं अलोकतान्त्रिक कदमको विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा एकतावद्ध भई उभिन तथा भूमिका खेल्न पनि अपील गरेको छ ।

प्रतिक्रिया