पार्टी फुटको घोषणा मात्रै बाँकी रहेका कुनै पनि भेलामा जान्न : वामदेव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको घोषणा मात्रै बाँकी रहेका कुनै पनि भेलामा नजाने बताएका छन् । गौतमले आफू अझै एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताउँदै यस्ता गुटगत भेलामा नजाने बताएका हुन् ।

गौतमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै केपी ओलीले गरेको भेला होस् वा अरुले गरेको भेला नै किन नहोस् ती सबै पार्टी फुटाउनका निम्ति भइरहेकाले आफू फुटको साक्षी बस्न नसक्ने बताएका छन् ।

उनले भनेका छन्,‘क.केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्– ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ ।’

गौतमले आफू दुई कम्युनिष्ट पार्टी एकीकरण गराउने मध्येको नेता भएको उल्लेख गर्दै अहिले पनि एकताको पक्षमा रहेको बताउ्रँदै संसद भंगको गैर संवैधानिक कदमको विरोध गरिरहने बताएका छन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन्,‘ म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।’

विज्ञप्ति

मन्त्रिपरिषद्ले संसद भंग र मध्यवधी निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ । तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन ।

त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ, ‘यदि उहाँले मन्त्रिपरिषद्को सिफारिस बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । उहाँले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुन्छ । यसका निम्ति मेरो विनम्र अनुरोध छ ।’

तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचार सुनेँ । त्यसपछि त्यो दुःखद् घटना हो भन्ने निश्कर्षमा पुगेँ । त्यसपछि संविधानको मर्म र भावना विपरित प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ ।

अब फुटको घोषणा गर्नमात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ ।

फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु ।

क.केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्– ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ । म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।

प्रतिक्रिया