आफू निकटको ओलीको भेलामा भट्ट पनि सहभागी, दाहाल–नेपाल पक्षको भेला आजै दिउँसो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय प्रतिनिधि सभा सदस्यहरुको भेला अहिले जारी छ ।

आइतबार प्रतिनिधि सभा विघटन गरेपछि ओलीले आफू निकटका प्रतिनिधि सभा सदस्यहरुलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

|ओली पक्षीय सांसदहरुको भेला, बालुवाटार। तस्वीरः प्रधानमन्त्री सचिवालय|

भट्ट पनि पुगे बालुवाटार
यता पूर्वमाओवादीका नेता लेखराज भट्ट पनि बालुवाटार पुगेका छन् ।

यसअघि हिजोको परिघटनाका कारण कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । त्यसमा पूर्वमाओवादीका मन्त्री रामबहादुर थापा ‘बादल’ र भट्टले भने राजीनामा दिएनन् ।

ओलीलाई अनुशासनको कारबाही 
यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

जसको लागि पार्टीले १० गतेको लागि तय भएको केन्द्रीय कमिटी बैठक ७ गतेको लागि डाकेको छ ।

समितिका एक सदस्यले बताएअनुसार ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाहीको तयारी गरिएको छ । ओलीइतर सांसदहरुले हिजै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

दाहाल–नेपाल पक्षीय भेला दिउँसो १ बजे 
यस्तै यता दाहाल–नेपाल पक्षले पनि आफू निकटका प्रतिनिधि सभा सदस्यहरुलाई बोलाएको छ । भेला दिउँसो १ बजेका लागि बोलाइएको हो ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भेला हुन लागेको एक सांसदले जानकारी दिएका छन् ।

प्रतिक्रिया