भट्ट, थापा र रायमाझीको कित्ता ‘क्लिअर्’

काठमाडौं । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, रामबहादुर थापा ‘बादल’ र टोपबहादुर रायमाझीले कित्ता ‘क्लिअर्’ गरेका छन् ।

आइतबार सबेरै प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भङ्ग गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ७ मन्त्रीले सामूहिक राजीनामा दिए । तर, मन्त्रीद्वय बादल र भट्टले भने दिएनन् । भट्ट र थापाको यो कदम कित्ता ‘क्लिअर्’को प्रष्टै आधार हो ।

यस्तै यता नेता रायमाझीले पनि आफ्नो कित्ता प्रष्टै पारेका छन् । प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्तावमा नेता रायमाझीको नाम छैन । उनीबाहेकका अन्य ९० नेताहरुको भने हस्ताक्षर छ ।

यसअघि विभिन्न कालखण्डमा सिर्जित राजनीतिक घटनाक्रम र अवस्थाका कारण तीन नेता र अध्यक्ष दाहालबीच मनमुटावको शृङ्खला तानिँदै आएको थियो ।

प्रतिक्रिया