मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

कांग्रेस जसपाबीच दुई बुँदे समझदारी
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच दुई बुँदे समझदारी भएको छ।
शनिबार अपरान्ह देउवा निवास बुढानिलकण्ठमा दुई पार्टीका शीर्ष नेताबीच भएको भेटमा दुई बुँदै समझदारी भएको स्रोतले जानकारी दिएको छ ।
संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकट लगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको हो।
ओलीको प्रतिवेदन फिर्ताको प्रस्ताव दाहालद्वारा पुनः अस्वीकार

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन गरेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः अस्वीकार गरेका छन् ।
बिहान १० बजेपछि प्रचण्ड निवास खुमलटार पुगेका ओलीले आफूविरुद्धको प्रतिवेदन फिर्ता लिन गरेको प्रस्ताव दाहालले अस्वीकार गरेका हुन् । अध्यक्ष दाहालले यसअघि पनि अस्वीकार नै गर्दै आएका थिए ।
केही लचकता देखाउँदै दाहाललाई भेट्न उनकै निवास पुगेका ओली त्यहाँबाट सिधै गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न पुल्चोक पुगेका छन् । ओली–थापाको भेटका क्रममा मन्त्रीद्वय वसन्त नेम्वाङ्ग र भानुभक्त ढकालपनि सहभागी भएका छन् ।
गत २८ कात्तिकको केन्द्रीय सचिवालय बैठकमा दाहालले पेश गरेका १९ पृष्ठको प्रतिवेदन ओलीले पटक–पटक फिर्ता हुनुपर्ने अडान दोहार्याउँदै आएका छन् ।
यतिसम्म कि, ओलीले दाहालले आफ्नो प्रतिवेदन फिर्ता नलिएसम्म आफू कुनै पनि पार्टी कमिटीको बैठकमा नआउने बताउँदै आएका छन् । सोहीबमोजिम पछिल्लो पटक बसेको स्थायी कमिटी बैठकमा ओली त्यही निहुँ पारेर उपस्थित भएका थिएनन् ।
नेकपाले जारी स्थायी कमिटीको अर्को बैठक भोलिका लागि तय गरेको छ । बैठकको पूर्वसन्ध्यामा ओलीले असन्तुष्टसँगै आफूनिकटका नेताहरुलाई तीव्र रुपमा भेटिरहेका छन् ।
७१० सङ्क्रमित थपिए, १,१७५ निको भए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप ७१० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार विभिन्न ८० वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७१० जनामा सङ्क्रमण देखिएको हो । आज देखिएका नयाँ सङ्क्रमितमध्ये महिला ३०६ र पुरुष ४०४ जना छन् । विगत २४ घण्टामा चार हजार ७८० को पिसिआर परीक्षण गरिएको थियो ।
थपिएका सङ्क्रमणसँगै मुलुकभर सङ्क्रमतिको सङ्ख्या दुई लाख ५३ हजार १८४ पुगेको छ । सङ्क्रमितमध्ये ३४।५ प्रतिशत महिला र ६५.५ प्रतिशत पुरुष छन् । हालसम्म आठ हजार ८४० सक्रिय सङ्क्रमित छन् ।
‘राष्ट्रपतिलाई अनावश्यक विवादमा ल्याउन खोजियो’
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपतिलाई अनावश्यक ढङ्गले विवादमा ल्याउने कार्य भइरहेको बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले सरकारले ल्याएको पछिल्लो अध्यादेशको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउन खोज्नु संविधानको बर्खिलाफ भएको टिप्पणी गरे ।
यादवले मन्त्रीपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था भए बमोजिम राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेको बताए । “राष्ट्रपति व्यक्ति नभएर निर्विवादित संस्था हो”, उनले भने, “यो संस्थाको गरिमा जोगाउन नसके संविधान कमजोर बन्न सक्छ ।” उनले नेकपाभित्रका ८३ सांसदले हस्ताक्षरसहित संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै पेश गरेको निवेदनलाई राष्ट्रपतिले स्वीकृत नगरेको भन्नेमा कुनै सत्यता नभएको बताए ।
कोभिडविरुद्धको खोप सबै नेपालीलाई निःशुल्क
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नफिज) को केन्द्रीय कार्य समितिलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।
जनताको जीवनरक्षा राज्यको पहिलो दायित्वका रूपमा वर्तमान सरकारले लिएको र त्यसलाई कार्यान्वयन गर्न कोभिड विरुद्धको भ्याक्सिन सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउन लागिएको उनले बताए । विश्वमा विभिन्न खाले खोप बनिरहेको र तीमध्ये गुणस्तरीय र लागतका हिसाबले किफायती खोप नेपाल ल्याउन सरकारले सक्रियता देखाइरहेको उनको भनाइ थियो ।
कोराना महामारी सुरु हुनासाथ सरकारले त्यसलाई थप फैलन नदिन बन्दाबन्दी र राहत वितरण गर्ने कार्यलाई सरकारले सफलतापूर्वक कार्यान्वयन गरेको, नागरिकको स्वास्थ्य उपचारसमेत निःशुल्क गर्ने गरेको स्मरण गर्दै उनले जनताको जीवन रक्षाका लागि खोप निःशुल्क गर्न लागिएको स्पष्ट गरे ।
‘हामी नागरिकको जीवन र जीविका रक्षाका लागि संवेदनशील छौं’, उनले भने, ‘कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने भएका छौँ, यसका लागि स्रोत व्यवस्थापन भइसकेको छ ।’ खोप जतिसक्दो छिटो नेपाल ल्याउन आयातमा सफल भएका तथा अध्ययन गरिरहेका मुलुकसँग कूटनीतिक रूपमा छलफल भइरहेको उनको भनाइ थियो ।
फाइजरपछि मोडर्ना खोपले पनि पायो अमेरिकामा मान्यता
काठमाडौं । अमेरिकी सरकारले कोभिड(१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ । यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ ।
अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेकपछि मोडेर्ना वितरणमा आएको छ । अमेरिकी सरकारले २० करोड मोडेर्ना खोप किन्न सहमति दिएको छ, जसमध्ये ६० लाख अब वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने बताइएको छ । कोभिड(१९ सम्बन्धी मृत्यु र सङ्क्रमण संसारमै सबभन्दा धेरै अमेरिकामा छ ।
विवाह पञ्चमी पर्व
मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव मनाइएको छ । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।
पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रङ्गभूमिमा लगिन्छ ।
रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । शोभायात्रामा सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन समेत सहभागी हुने गर्छन् । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ ।
शिक्षासेवी समाज सुधारक बालागुरु षडानन्दको जन्म जयन्ती
काठमाडौं । नेपालमै पहिलो पटक जनताको सहयोगमा संस्कृत पाठशाला स्थापना गरेका बालागुरु षडानन्दले नेपाली समाजमा पुर्याएको योदानको स्मरणमा आज उनको जन्म जयन्ती मनाइएको छ ।
विसं १८९२ मार्गशीर्ष शुक्ल पञ्चमीका दिन भोजपुर जिल्लाको दिङ्लामा पिता लक्ष्मीनारायण र माता रुक्मिणी अधिकारीको पुत्रका रुपमा जन्मिएका षडानन्दले विसं १९३२ मा संस्कृत पाठशाला स्थापना गरी सबै जातजातिका मानिसले पढ्न पाउने व्यवस्था मिलाएका थिए । राजधानी शहरमा समेत राणा र उच्च वर्गीय परिवारले मात्र पढ्न पाउने त्यो बेलामा जनताको समेत सहयोग लिएर पठनपाठनको व्यवस्था मिलाइएको थियो । यो औपचारिकरुपमा स्थापना भएको नेपालको पहिलो पाठशाला मानिन्छ ।
त्यसबेला आममानिसले दैनिक उपभोग गर्ने अत्यावश्यक चीजबीजको सहज आपूर्ति थिएन । किसानले उत्पादन गरेका अनाज बिक्री गर्ने व्यवस्था नहुँदा मानिस कष्ट भोग्न बाध्य थिए । षडानन्दले दिङ्ला भञ्ज्याङमा प्रत्येक शनिबार हाटबजार लाग्ने व्यवस्था मिलाए । यसले भोजपुर र संखुवासभाका धेरै जनतालाई दैनिक जीवन उपार्जनमा सहजता मिलेको थियो ।
गरिब देशमा २०२१ को सुरूदेखि नै कोरोनाविरूद्धको खोप पठाउँछौं : डब्लुएचओ
जेनेभा । गरिब राष्ट्रहरूमा नयाँ बर्ष सन् २०२१ को सुरूदेखि नै कोरोनाविरूद्धको खोप पठाउन थालिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । डब्लुएचओ र त्यसका साझेदारहरूले कोभ्याक्सलगायतका खोप शीघ्र उपलब्ध हुनसक्ने शुक्रबार बताएका हुन् ।
उनीहरूले सबैलाई पुग्नेगरी बनाउने तयारी भइरहेको जनाएका छन् । विश्व समुदायका लागि झण्डै दुई अर्ब मात्रा खोप सुरक्षित गर्न लागिएको स्वास्थ्य निकायका अधिकारीहरूले जानकारी दिएका छन् ।
अध्यारो सुरुङ्मा पनि थोरै उज्यालो हुन्छ भने झैँ महामारीका बेला पनि गरिब मुलुकलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउने प्रयास भइरहेको डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए ।
बुरुण्डीका पूर्व राष्ट्रपतिको कोरोना संक्रमणबाट निधन
नैरोबी । बुरुण्डीका पूर्व राष्ट्रपति पिएरे बुयोयाको निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएका बुयोयाको ७१ बर्षको उमेरमा निधन भएको हो । फ्रान्सको राजधानी पेरिसमा उपचार भइरहेका बेला उनको निधन भएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
अफ्रिकी युनियनबाट माली र सहेलका लागि विषेश दूतको जिम्मेवारीमासमेत रहेका बुयोयाले केही हप्ता अगाडि मात्रै त्यस पदबाट राजीनामा दिएका थिए । सानो अफ्रिकी मुलुक बुरुण्डीमा लोकतन्त्र स्थापनाका लागि उनले ठूलो योगदान गरेको श्रेय दिने गरिन्छ ।
अस्वस्थ भएपछि उनीलाई सुरुमा मालीको राजधानी बामाकोमा रहेको अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहाँ सुधार नभएपछि हिजो मात्रै पेरिस लगिएको अधिकारीहरूले जनाएका छन् । ‘हिजो राति मात्रै उहाँलाई फ्रान्स ल्याइएको हो,’ उनका एक पारिवारिक सदस्यले शुक्रबार एएफपीसँग भने । अर्को एक श्रोतले भन्यो, ‘उपचारका लागि पेरिसतर्फ लैजाँदै गरेका बेला एम्बुलेन्समै बिहीबार राति उहाँको निधन भएको हुनसक्छ ।’
उनले सन् २०१२ देखि गत नोभेम्बरसम्म माली र सहेलका लागि अफ्रिकन युनियनको विषेश प्रतिनिधिका रुपमा सेवा गर्दै आएका थिए । सन् १९९३ मा भएको आफ्ना उत्तराधिकारीको हत्या घटनामा संलग्न भएको आरोपसहित आजीवन काराबासको फैसला भएपछि उनले राजीनामा दिएका थिए ।
उनले भने त्यस फैसलालाई राजनीतिक पुर्वाग्रहका आधारमा आएको फैसलाको संज्ञा दिदै आएका थिए । आफूले नैतिकताका आधारमा विषेश प्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको पनि उनले उल्लेख गरेका थिए ।








