पेरिसडाँडामा ‘प्रचण्ड’को ब्रिफिङ्ग–‘निषेध होइन, नियन्त्रण गरेर अघि बढ्ने हाम्रो उद्देश्य’

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यमान परिस्थितिविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्ने ब्रिफिङ्ग गरेका छन् । शुक्रबार पेरिसडाँडामा आफूनिकटका जिल्लास्तरीय नेताहरुसँग भएको भेलाका क्रममा अध्यक्ष दाहालले ब्रिफिङ्ग गरेका हुन् ।

भेलामा सरिक रहेका प्रदेश नं. १ का एक नेताका अनुसार भेलामा अध्यक्ष दाहालले एकलौटी ढङ्गले अघि बढेका अर्का अध्यक्ष एवम् प्रधानमन्त्रीको प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्ने र आफूहरुको उद्देश्य निषेध नभएर नियन्त्रण गरेर अगाडि जाने भएको बताएका हुन् ।

ती नेताका अनुसार बैठकमा ओलीले गत मंगलबार जारी गराएका संवैधानिक परिषद्सम्बन्धीको अध्यादेश फिर्ता नलिए थप कमद चाल्ने निर्णयसमेत गरेको छ । ‘अर्का अध्यक्षले अध्यादेश फिर्ता नलिए हामीले थप कदम चाल्छौं र आजको भेलामा पनि त्यही विषयमा कुराकानी भएको हो । उहाँ [ओली] बाट विधि, पद्धति र नेकपाको राजनीति स्खलन भइरहेको छ ।’ प्रदेश नं. १ बाट प्रतिनिधित्व गर्ने नेता जगन्नाथ खतिवडाले बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै भनेका छन् ।

आजको भेलालाई खासगरी पछिल्लो पटक विकसित भएका राजनीति घटनाक्रमलाई केन्द्रमा राखेर अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरेका थिए । दाहाल–नेपाल पक्षले केही समयअगाडि बागमती प्रदेशस्तरीय भर्च्यूअल भेलासमेत आयोजना गरिसकेका छन् ।

यस्तै दाहाल–नेपाल पक्षले विभिन्न ठाउँमा विद्यार्थी भेलासमेत गरिसकेका छन् । दाहाल–नेपाल पक्षले सातै प्रदेशका आफूनिकट जिल्लास्तरीय नेताहरुसँग परामर्श गर्ने कार्यक्रम तय गरेको छ । जसअन्तर्गत दाहाल–नेपालले आज प्रदेश नं. १ का नेताहरुसँगको छलफल गरेका हुन् ।

प्रतिक्रिया