मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

प्रमुख समाचारका शीर्षहरु :

  •  प्रचण्डको आपत्ति र प्रधान्यायाधीशको सूचनापछि संवैधानिक
  •  सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको पत्राचार
  • पछिल्लो २४ घण्टामा थपिए ७७६ संक्रमित
  • एकसाताभित्र उखुकिसानको बाँकी भुक्तानी दिलाउन सरकारलाई निर्देशन
  • नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकमा देव वाटमोर
  • किसानको पीडा सहन नसकेर दिल्लीमा सिक प्रचारकले गरे आत्महत्या
  •  श्रीलंकाबाट बाहिरियो एमसीसी
  •  नेपाल भारत नियमित उडान ९ महिनापछि सुरु
  • अन्नपूर्ण उद्योगका मालिक अग्रवालविरुद्ध प्रशासनको पक्राउ पूर्जी
  • चन्द्रमाबाट चट्टान र धुलो लिएर पृथ्वीमा फर्कियो चीनको चाङ्ग अ फाइभ

प्रचण्डको आपत्ति र प्रधान्यायाधीशको सूचनापछि संवैधानिक परिषद् बैठक स्थगित
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्तिपछि प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बोलाएका संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।

बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने आफू सहभागी नहुने बताइसकेका थिए । खासगरी नेकपा नेताहरुलेसमेत आपत्ति जनाएपछि परिषद्को बैठक स्थगित भएको स्रोतले जनाएको छ । संवैधानिक परिषद्को बैठक स्थगित भएको जानकारी आएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जनाएको छ ।

ओलीले हिजोको स्थायी कमिटी बैठकमा सरकारले गत मंगलबार जारी गरेको परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाएका थिए । यसैबीच प्रधानन्यायाधीश नआउने भएपछि पनि बैठक स्थगित गर्नुपरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले भने – एकचोटि राष्ट्रपतिलाई भेटेपछि अध्यादेश फिर्ता लिउँला

|नेकपाका दुई अध्यक्ष, केपी ओली र प्रचण्ड|

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक राष्ट्रपतिसँग भेट गरेपछि मात्रै अध्यादेश फिर्ता लिने बताएका छन् । दुबै अध्यक्षको भेटमा कार्यकारी अध्यक्ष प्रचण्डले आज साँझ बसेको मन्त्रिपरिषद बैठकबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेपछि प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

बुधबार आयोजित स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका थिए । तर, बिहीबार ५ बजेका लागि संवैधानिक परिषदको बैठक डाकिएपछि आक्रोशित देखिएका प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

सरकारी सुविधा लिनेको सामाजिक सुरक्षा भत्ता रोक्न गृहको पत्राचार
देशभरका स्थानीय तहहरूलाई परिपत्र गर्दै गृहले सामाजिक सुरक्षा भत्ता रोक्न निर्देशन दिएको हो । गृहले जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह अथवा यिनीहरूको पूर्ण वा आंशिक स्वामित्व रहेको कुनै पनि संस्थाबाट नियमित तलब, पेन्सन, अवकाश सुविधा अथवा अन्य सुविधाहरु पाइरहेका व्यक्तिलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्नू ।’

सरकारले यसअघि नै सरकारी सुविधा लिइरहेकाहरुको दोहोरो सुविधा रोक्ने निर्णय लिइसकेको थियो । तर, अझै पनि सरकारी सुविधा लिनेहरूले दोहोरो सुविधा उपभोग गरिरहेको गुनासो आएपछि गृहले यस्तो परिपत्र गरेको हो ।

पछिल्लो २४ घण्टामा थपिए ७७६ संक्रमित

|सांकेतिक तस्वीर|

पछिल्लो २४ घन्टामा नेपालमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । हाल देशभर ९ हजार ५८० सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमित कोरोनामुक्त (डिस्चार्ज) भएका छन् ।

साथै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएसँगै मृतकको संख्या एक हजार ७४९ पुगेको मन्त्रालयले जनाएको छ ।

एक साताभित्र उखु किसानलाई बाँकी भुक्तानी दिलाउन सरकारलाई निर्देशन

|उखु किसानहरु प्रदर्शनका क्रममा। तस्वीरः धनबल राई, मकालु खबर|

संघीय संसदको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक साताभित्र उखु किसानको बाँकी रकम भुक्तानी दिलाउन सरकारलाई निर्देशन दिएको छ । आज उखु किसानको बक्यौताको विषयमा भएको छलफलमा समितिले एक साताभित्र सबै रकम भुक्तानी दिलाउन निर्देशन दिएको हो ।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले सबै भुक्तानी सात दिन भित्र दिलाउन र उक्त विवरण समितिमा उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकमा देव वाटमोर
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। आगामी जनावरी १ देखि उनले नेपाली टिम सम्हाल्नेछन्।

किसानको पीडा सहन नसकेर दिल्लीमा सिख प्रचारकले गरे ‘आत्महत्या’
भारतको राजधानी दिल्लीको सिंघु सीमामा बुधबार बेलुका ६५ वर्षीय सिख प्रचारक राम सिंह सिंघडाले आफैले गोली हाने । उनको मृत्यु भयो ।

समाचार संस्था पीटीआईका अनुसार उनको हातबाट पञ्जाबीमा लेखिएको पत्र भेटिएको छ । त्यसमा लेखिएको छ, ‘किसानको पीडा सहन गर्न सकिरहेको छैन ।’ प्रहरीले सो पत्रको सत्यता जाँच भइरहेको जनाएको छ । सिंघडाको शव पोस्टमार्टका लागि स्थानीय अस्पतालमा लगिएको छ।

श्रीलंकाबाट बाहिरियो एमसीसी
अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) श्रीलंकाबाट पछि हटेको छ । मंगलबार सम्पन्न एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

बैठकपछि एमसीसीले जारी गरेको विज्ञप्तिमा श्रीलंकामा एमसीसी पछि हटेको जानकारी गराइएको छ । श्रीलंकामा एमसीसीले यातायात पूर्वाधार र भूमी सुधार सम्बन्धि परियोजनाहरुमा ४८ करोड अमेरिकी डलर अनुदान दिने योजना रहेको थियो । एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रमअन्तर्गत ४८ करोड अमेरिकी डलर दिने निर्णय गरेर अगाडी बढेपनि श्रीलंका सरकार असहमत भएपछि अहिले एमसीसी पछाडि हटेको छ ।

नेपालमा पनि एमसीसी बारे विवाद कायम रहेको छ । संसदबाट अनुमोदन गराउनु पर्ने भएकोले राजनीतिक दलहरु बीच र खसिगारी सत्तारुढ दल भित्र एकमत नहुदा अझै अन्योलमा रहेको छ । –एजेन्सी

९ महिनापछि नेपाल-भारत नियमित हवाई उडान सुरू

फाइल फोटो

कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल(भारत हवाई उडान ९ महिनामा आज सुरू हुँदैछ । कोभिड१९ का कारण बन्द रहेको हवाई उडान एयर बबल ट्राभल सम्झौताका आधारमा खोल्न दुवै देश सहमत भएपछि आज नेपाल एयरलाइन्सले दिल्लीका लागि पहिलो उडान गर्दैछ ।

नेपाल एयरलाइन्सले साढे ११ बजे दिल्लीका लागि उडान गरे पनि एयर इण्डियाले भने डिसेम्बर २७ बाट मात्रै उडान गर्ने नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

नेपालले डेढ साता अघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको थियो । भारतले भदौ ७ गते नेपाललाई एयर बबल ट्राभल सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो । भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत २१ मुलुकसँग दुईपक्षीय उडान सम्झौता गरिसकेको छ।

अन्नपूर्ण उद्योगका मालिक अग्रवालविरुद्ध प्रशासनको पक्राउ पूर्जी

धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौँ रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । उखु उत्पादक किसानले दिएको उजुरीका आधारमा उद्योगी अग्रवाललाई पक्राउ पूर्जी जारी गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

उद्योगले उखु उत्पादक किसानको रु १७ करोड भुक्तानी गर्न बाँकी रहेको देखिएको छ । स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सो पूर्जीका आधारमा मुलुकको जुनसकै ठाउँबाट पनि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिनसक्ने जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

चन्द्रमाको चट्टान र धुलो लिएर पृथ्वी फर्कियो अन्तरिक्ष यान

अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो

चीनको चाङ्ग-अ फाइभ अभियान अन्तर्गत चन्द्रमाबाट चट्टान र धुलो लिएर आएको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । उक्त अन्तरिक्ष यान बिहीवार स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो ।

अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको ४० वर्ष भन्दा बढी भइसकेको छ । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्नेछ ।

प्रतिक्रिया