नेपाली राष्ट्रिय क्रिकेटको मुख्य प्रशिक्षकमा देव वाटमोर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा अस्ट्रेलियाका देव वाटमोर नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। आगामी जनावरी १ देखि  उनले नेपाली टिम सम्हाल्नेछन्।

क्यानले नेपाली टिमको प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता एक दर्जन प्रशिक्षकको अन्तर्वार्ता लिएको थियो। श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्।

६६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ। वाटमोरको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ को एकदिवसीय विश्वकप जितेको थियो। उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षकसमेत थिए। त्यसपछि उनी भारतको यु १९ टिमको प्रशिक्षक पनि रहेका थिए।

उनले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। त्यसपछि उनी २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बनेका थिए। सन् २०१४ मा जिम्बावेको प्रशिक्षक बनेका उनलाई २०१६ को टी–२० विश्वकपमा जिम्बावेले खराब प्रदर्शन गरेपछि बर्खास्त गरिएको थियो। त्यसपछि उनी भारत फर्किएका उनले केरलाको टिमलाई प्रशिक्षण दिए।

उनी सन् २०२० मा सिंगापुरका प्रशिक्षक बने हुन्। वाटमोरलाई प्रशिक्षक नियुक्त गरेसँगै रौनकबहादुर मल्ललाई महाप्रवन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य बृत्त व्यवस्थापक र विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरिएको क्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया