नगरपालिका भित्रका गन्धर्वलाई बसोवासको व्यवस्था

बाँके । कोहलपुर नगरपालिकाभित्र रहेका गन्धर्व समाजका मानिसहरुलाई स्थानीय उपभोक्ता समितिले बासकाे व्यवस्था गरिदिएको छ । नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरिदिएको हाे  ।

पहिलो चरणमा २४ घरमध्ये १० घर निर्माण भई गन्धर्व समुदायलाई हस्तान्तरण भइसकेको छ । तराई समृद्धि विकास र नगरपालिकाको सहयोगमा पहिलाे चरणमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्धर्वहरुलाई उपलब्ध गराएको तथा दोस्रो चरणअन्तर्गत ९० लाख ५८ हजार लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए ।

बस्ती निर्माणपछि डुडुवा नहरको छेउमा रहेको गन्धर्व बस्तीलाई नगरपालिकाकै वडा नं. ११ मा सारिएको छ ।

घर पाएपछि खुशि देखिएका उनीहरूले आफूहरुलाई घरको लालपुर्जा समेत उपलब्ध गराईदिए सहज हुने उनीहरुको भनाई छ । तर, घर पाए पनि उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिँदा समस्या भएको गन्धर्वहरु बताउँछन् ।

पहिलो चरणमा बनेका १० ओटा घरको शौचालयको स्याफ्टी ट्यांकी एउटै भएकाले झनै समस्या बढेको उनीहरुको गुनासो छ ।

 

 

प्रतिक्रिया