खैरहनीमा झन्डै १ करोडको कृषि अनुदान कार्यक्रम

ध्रुवराज खनाल –
चितवन । खैरहनी नगरपालिकाले यस वर्ष करिब १ करोड रुपैयाँ बराबरको अनुदान कार्यक्रम संचालन गर्दैछ । साना सिंचाइ, कृषि औजार वितरण, बाली वस्तुको विकास कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ९६ लाख रुपैयाँ खर्चिन लागेको नगरपालिकाले जनाएको छ ।

कृषि शाखा प्रमुख कृषि अधिकृत दिपेन्द्र अर्यालका अनुसार खैरहनी नगरपालिका र संघीय सरकारको शशर्त कार्यक्रम अन्तर्गत सो बजेट बराबरको कार्यक्रम संचालन हुन लागेको हो ।

नगर कृषि कार्यक्रम अन्तर्गत साना सिंचाइ कार्यक्रममा ८५ प्रतिशत अनुदान, नयाँ कृषि प्रविधि बिस्तारका लागि सामाग्री वितरण ७५ प्रतिशत अनुदान, नयाँ प्रविधिमा आधारित मेसिनरी औजार उपकरण वितरणमा ७५ प्रतिशत अनुदान , विद्युतीय (ब्याक्ट्री) स्प्रेयर वितरणमा ५० प्रतिशत अनुदान र कृषि सामाग्री वितरण (सिड ट्रिटर आदि) मा ८० प्रतिशत अनुदान दिइने कृषि अधिकृत अर्यालले बताए ।

साना सिंचाइ कार्यक्रमका लागि यस वर्ष २० लाख रुपैयाँ, नयाँ कृषि प्रविधि बिस्तारका लागि सामाग्री वितरण कार्यक्रममा १५ लाख रुपैयाँ, नयाँ प्रविधिमा आधारित मेसिनरी औजार उपकरण वितरणका लागि ३० लाख रुपैयाँ, स्प्रेयर वितरणका लागि ५ लाख र सिड ट्रिटर आदि वितरणका लागि २ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अनुदान प्राप्त गर्नका लागि सूचना प्रकाशित गरेर माग आह्वान गरिसकेको प्राविधिक सहायक ध्रुव आचार्यले जानकारी दिए । कृषक, कृषक समूह, उपभोक्ता समूह, कृषि सहकारी, निजी कृषि फर्मले माग गर्न सक्नेछन् । अनुदान कार्यक्रमका लागि निवेदन , सहकारी, कृषि फर्म, कृषक समुहको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपी, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, संस्थागत निर्णयको प्रतिलिपी, एकीकृत सम्पती कर तिरेको रसिद, सम्बन्धित वडा कार्यालयको सिफारिस, साना सिंचाइ कार्यक्रमका लागि कम्तीमा २० कठ्ठा क्षेत्रफल तथा न्युनतम ५ सदस्यीय उपभोक्ता समिति गठन गरेको हुनुपर्नेछ ।

यस्तै संघीय सरकारबाट हस्तान्तरित शशर्त कार्यक्रम अन्तर्गत राष्ट्रिय तथा स्थानीय महत्त्वका खाद्य तथा पोषण सुधारमा टेवा पुर्याउने बाली वस्तुको साना व्यवसायिक कृषि उत्पादन क्षेत्र (पकेट) विकास कार्यक्रमका लागि २४ लाख रुपैयाँ विनियोजन भएको छ ।

खैरहनी नगरपालिका मेयर लालमणी चौधरीले खैरहनी कृषिमा आधारित नगरपालिका रहेकाले कृषिलाई पहिलो प्राथमिकता दिएर अनुदान तथा अन्य कार्यक्रम संचालन गरिरहेको बताए । खैरहनीलाई धान, मकै, तोरि, केरा, माछा पालनको पकेट क्षेत्र मानिन्छ । यहाँ धान जोन, माछा जोन, मौरी जोन र केरा जोन कार्यक्रमसमेत लागू भएको छ ।

प्रतिक्रिया