मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

प्रमुख समाचारका शीर्षहरु :
अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत
 भ्रष्ट, नालायक ओली सरकारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ’
संसदको विशेष अधिवेशनको माग गर्दै शीतल निवास पुगे नेकपा नेता
दुई महिना भित्र सम्पत्ति विवरण बुझाउन विकास समितिहरूलाई निर्देशन
प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिन
ओलीको कदमले फुटतर्फ एक स्टेप अघि बढ्यो नेकपा
बाबुराम भन्छन्– ‘केपी ओलीको धन्धुकारी हर्कत रोक्न महाअभियोग लगाऔं’
क्लिनफिडले बन्द रहेका टेलिभिजन च्यानल पुनः सञ्चालनमा
मेस्सी र ग्रिजमेन लयमा फर्किए बार्सिलोनालाई रोक्न असंभव
बोको हरामद्वारा ३३३ विद्यार्थी अपहरण गरेको स्वीकार

अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत
संबैधानिक परिषद् अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएर स्थायी कमिटी बैठकमा सहभागी हुन सहमति जनाएका छन् ।

बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीचको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च स्रोतले जनाएको छ ।

योसँगै प्रचण्ड पक्ष संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति समक्ष बुझाउन लगेको निवेदन पनि फिर्ता लिने संभावना छ । अहिले ओली सहित नेकपाको स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ ।

संसदको विशेष अधिवेशनको माग गर्दै शीतल निवास पुगे नेकपा नेता
संसदको विशेष अधिवेशनको माग गर्दै नेकपा नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् । भीम रावल, पम्फा भुसाललगायतका नेताहरु संसदको विशेष अधिवेशनको माग गर्दै शीतल निवास पुगेका हुन् ।

खासगरी मंगलबार प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले आफूखुशी अध्यादेश जारी गराएपछि विरोध चर्किरहेको बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले संसदको विशेष अधिवेशनको माग गरेका हुन् ।

गत २१ मंसिरबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठकको आज तेस्रो छलफल चल्दैछ । आजको बैठकमा पूर्वनिर्धारित कार्यसूचीलाई भन्दा जारी अध्यादेशलाई केन्द्रमा राखेर प्रस्तुत हुने नेकपा नेताहरुको तयारी छ ।

दुई महिना भित्र सम्पत्ति विवरण बुझाउन विकास समितिहरूलाई निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।

आज मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिँदै गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरेका छन् ।

मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना भएको बताउँदै महिना दिन भित्र सुझाव दिन सवैलाई आग्रह गरे । उनले विकास समितिहरुले मितब्ययिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा व्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न तथा बेरुजु फर्स्यौट गर्न तर्फ लाग्न दिएका हुन् ।

भ्रष्ट, नालायक ओली सरकारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ’
कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले संबैधानिक परिषद् अध्यादेशले नेकपा ओली सरकारलाई अधिनायकवाद तर्फको यात्रा भएको बताएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिको कदम लोकतन्त्र माथिको प्रहार भएको बताउँदै प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिएर सच्चिनुको विकल्प पनि नरहेको बताएका छन् ।

‘संबैधानिक परिषद सम्बन्धि अध्यादेश ओली सरकारको अधिनायकवाद तर्फको यात्रा र लोकतन्त्र माथिको प्रहार हो । ओली सरकारले अध्यादेश फिर्ता लिएर सच्चिनुको विकल्प छैन ।’ नेता गुरुङको भनाई छ ।

साथै गुरुङले भ्रष्ट, नालायक, अधिनायकवादी ओली सरकारलाई आन्दोलनको आँधीबेहरीले जरैदेखि उखेलेर फाल्नु पर्ने समेत भनेका छन् ।

प्रजातन्त्रमाथि ‘कू’ भएको सम्झनामा कालो दिन
प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइएको छ ।

विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहींबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेलपछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो । यहीँ बसेर विपीले ‘दोषी चश्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गरेका थिए । ‘दोषी चश्मा’ कथा सङ्ग्रह विसं २००८ मै प्रकाशन भइसकेको थियो ।

‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त भएका बिपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान सावित भएको थियो । बन्दीगृहबाट यौन मनोविश्लेषणवादी धाराका दर्जनौँ कृति नेपाली साहित्यले पाउन सक्यो । बन्दीगृहमा रचना भएका कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’लगायत उपन्यास रचना गरेका थिए ।

ओलीको कदमले फुटतर्फ एक स्टेप अघि बढ्यो नेकपा
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद, विग्रह र विभाजनको प्रयास कुनै नौलो कुरा भएन, त्यो विवाद र विग्रह सृखला फेरि अध्यादेशमै पुग्यो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विवाद झनै उत्कर्षमा पुगेको हो ।

पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन् । छैठौं स्थायी कमिटीको बैठक चलिरहँदा ओलीको यो कदमले पार्टी विभाजनलाई एक स्टेप अगाडि बढाएको उनीहरुको तर्क छ ।

लगातार दुईपटक आयोजना गरिएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नी सापकोटा अनुपस्थित भएर बैठक अनिर्णीत बन्यो । यसपछि प्रधानमन्त्री ओलीले आफूलाई सहज हुने गरी अध्यादेश ल्याए । अब परिषद् बैठकमा गणपूरक संख्या पुग्न ४ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने कानुनी प्रावधान हटेको छ ।

बाबुराम भन्छन्– ‘केपी ओलीको धन्धुकारी हर्कत रोक्न महाअभियोग लगाऔं’
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीका हर्कतलाई रोक्न महाअभियोग लगाउनु पर्ने बताएका छन् । विपक्षी नेता बैठक र वक्तव्यबाजी गरेर मात्र बस्नु नहुने भन्दै उनले प्रधानमन्त्री ओलीका धन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाअभियोग तर्फ लाग्नुपर्ने बताएका हुन् ।

मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि यसको चौतर्फी विरोध भइरहेका बेला बाबुरामको यस्तो धारणा आएको हो । सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय बाबुरामले महाभारतको कथामा दुर्योधनहरुले द्रौपदीको चिरहरण गर्दा भीष्महरु मौन बसेको प्रसंगलाई जोड्दै यस्तो बताएका हुन् । उनले ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहँदा चुप बस्नु नहुनेमा जोड दिएका छन् ।

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आफू राजस्थानमा जन्मिएको बताउँदै आएका योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याएका थिए तर अस्पताल आइनपुग्दै निधन भइसकेको बताइएको छ ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रक्रिया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

क्लिनफिडले बन्द रहेका टेलिभिजन च्यानल पुनः सञ्चालनमा
गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित ९क्लिन फिड० लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन्।

सरकारले विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित गरेको करिब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका ३२ वटा च्यानल मङ्गलबारबाट पुनः सञ्चालनमा आएको हो ।

विदेशी ब्रोडकास्टरले तत्काल विज्ञापनरहित च्यानलहरू उपलब्ध गराउन नसकेका कारण प्रसारण अवरुद्ध भएका च्यानलहरु पुनः विज्ञापनरहित प्रसारणमा आएको डिसहोम मिडिया प्रालिले जनाएको छ ।

मेस्सी र ग्रिजमेन लयमा फर्किए बार्सिलोनालाई रोक्न असंभव

स्पेनिस क्लब रियल सोसिडाडका मुख्य प्रशिक्षक इम्यानोल एल्गुआसिलले बार्सिलोनाका कप्तान लियोनल मेसी र ग्रिजम्यान लयमा फर्किएमा बार्सिलोनालाई रोक्न असम्भव हुने बताएका छन्।
बार्सिलोना र रियल सोसिडाडबीचको महाभिडन्तअघि बोल्दै उनले बार्सिलोनाका दुई स्टारलाई रोक्न मुश्किल हुने बताएका हुन्।

ला लिगामा बुधबार राति १ः४५ बजे बार्सिलोना र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुँदैछ। जारी सिजन खराब अवस्थामा रहेको बार्सिलोना लयमा फर्कन संघर्ष गरिरहेको छ। रियल सोसिडाडले यस सिजन उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। १३ खेलबाट २६ अंक जाडेको सोसिडाड अंक तालिकोको शीर्षस्थानमा छ। ११ खेलबाट १७ अंक बटुलेको बार्सिलोना ८ औं स्थानमा छ।

गोरखामा बस दुर्घटनाः दुई दर्जनभन्दा बढी घाइते, पाँचको अवस्था गम्भीर
काठमाडौंबाट गोरखा बजार हुँदै सोती जाँदै गरेको बस दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । ग १ ख ९४४६ नम्बरको रात्रि बस भीमसेन थापा गाउँपालिका ३ मा दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए । उनका अनुसार गम्भीर तीन जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने दुई जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ ।

बस सडकबाट करिब ५० मिटर तल खसेको स्थानीयले बताएका छन् । चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनापछि फरार रहेको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बोको हरामद्वारा ३३३ विद्यार्थी अपहरण गरेको स्वीकार
नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी यहाँका ३ सयभन्दा बढी विद्यार्थी बेपत्ता गरिएको घटनाको यहाँको आतंककारी समूह बोको हरामले जिम्मा लिएको छ ।

यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरूले गरेको सो हमलामा परी यहाँका ३३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरूले अपहरण गरी लगेको अनुमान गरिएको थियो ।

बोको हराम नामक यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको हो । नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा गएको शुक्रबार राति र आइतबार सो हमला भएको हो । त्यस हमलामा परेर ३३३ जना विद्यार्थी अपहरित भएका थिए । अपहरणकारीहरुले स्वीकार गरिसकेको समाचार आएको पनि बुधबार अधिकारीले जनाएका छन् ।

ती अपहरणकारीहरु सरकारी खोजकर्ताहरूको सम्पर्कमा आएका र उनीहरुसँग बालबालिकालाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको जनाइएको छ । बोको हराम संगठनका नेता अबुबाकर सेकाउले बुधबार एक अडियो सन्देश पठाएर ती विद्यालयहरूलाई आफूहरूले अपहरण गरेको भन्दै विद्यालयका ३३३ जना बालकालिका आफूहरूसँग रहेको बताएका छन् ।

प्रतिक्रिया