‘दुई अध्यक्षबीच यी दुईबाहेक कुनै सहमति भएको छैन’

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले सञ्चारमाध्यममा आएका समाचारहरुको कटाक्ष गरेको छ ।

अध्यक्ष दाहाल र प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीबीच १९ र ३८ पृष्ठ लामो प्रतिवेदनसमेत फिर्ता लिनेगरी सहमति भएको भन्ने समाचारमा सत्यता नभएको सचिवालयले उल्लेख गरेको छ । यसअघि आएका अधिकांश सञ्चारमाध्यमहरुमा ओली–दाहालबीच दुवैले आफ्नो प्रतिवेदन फिर्ता लिनेसमेत सहमति भएको समाचारहरु सम्प्रेषण भएका थिए ।

अध्यक्ष दाहालकी स्वकीय सचिव गंगा दाहालले आफ्नो आधिकारिक फेसबूकमार्फत् दिएकी जानकारीअनुसार दुई अध्यक्षबीच अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन आह्वानको आवेदन फिर्ताबाहेक अन्य सहमति भएको छैन । ‘आज प्रधानमन्त्री र कार्यकारी अध्यक्षका बीचमा भएको सहमतिः १, सरकारद्वारा ल्याइएको अध्यादेश फिर्ता । २, संसदको विशेष अधिवेशन बोलाउन राष्ट्रपतिलाई बुझाइएको पत्र फिर्ता । यी दुई सहमतिबाहेक अरु कुनै सहमति भएको छैन ।’ दाहालले उल्लेख गरेकी छन् ।

यसअघिका समाचारहरुमा दुई अध्यक्षबीच अध्यादेश र निवेदन फिर्तासँगै आ–आफ्नो प्रतिवेदनसमेत फिर्ता लिने सहमति भएको उल्लेख गरिएको थियो । सोही समाचारको प्रचण्ड सचिवालयले कटाक्ष गरेको हो ।

दिउँसो १ बजेका लागि तोकिएको बैठकमा ओली उपस्थित नभएपछि अध्यक्ष दाहाल प्रधानमन्त्री सरकारी निवासतिरै सोझिएका थिए । त्तपश्चात् अध्यादेश र शीतल निवास पुगेको निवेदन फिर्ता गर्ने सहमति भएपछि ओली पुनः बैठकमा उपस्थित भएका थिए । त्यसपछि बसेको नेकपा स्थायी कमिटी बैठकमा ओलीले मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकमा कुनै निर्णय नभएको समेत जानकारी गराएका थिए । यस्तै बैठकले अब पुनः ५ पुषमा स्थायी कमिटी बैठक बस्ने र ५ गतेको लागि तोकिएको केन्द्रीय कमिटी बैठक १० पुषमा बस्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया