ओली–दाहाल त जुटे, सहमति जुट्ला कि नजुट्ला ?

काठमाडौं । बुधबार गत २१ गते मंसिरमा शुरु भएको नेकपा स्थायी कमिटी बैठकलाई निरन्तरता दिने कार्यसूची थियो । तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नै अनुपस्थित नभएपछि बैठक कार्यसूचीअनुरुप चल्न सकेन । बैठकको पूर्वनिर्धारित समय १ बजे तोकिएको थियो । बैठकभन्दा अगाडि पनि भेटवार्ता गरेका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठक अघिको भेटवार्तामा कुनै खालको निष्कर्ष निस्केन । फलस्वरुपः ओली १ बजे शुरु हुने स्थायी कमिटीको बैठकमा उपस्थित भएनन् ।

यता लामो समयदेखि ओलीसँग चिढिएको दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने संसदको विशेष अधिवेशनको माग गर्दै आफ्ना विश्वासपात्र नेतालाई शीतल निवास पठाएको छ । अधिवेशनको हस्ताक्षर बोकेर नेताद्वय भीम रावल र पम्फा भुसाल शीतल निवास पुगेपनि त्यहाँ उनीहरुले त्यहाँको सचिव डा. हरि पौडेललाई भेट्न सकेका छैनन् । रावल र भुसाल शीतल निवास पुगेको थाहा पाएपछि ओलीले दाहाललाई फोन गरेर हस्ताक्षर तुरुन्त फिर्ता गर्न माग गरेका थिए । स्रोतले बताएअनुसार दाहालले जवाफमा ‘तपाईँले अगाडि अध्यादेश फिर्ता लिनुस्, अनि शीतल निवास पुगेको हस्ताक्षर फिर्ता हुन्छ’ भन्दै भनेका थिए ।

एकातिर यी सबै घटना घटिरहँदा दुई अध्यक्ष ओली–दाहाल भने पुनः वार्तामा जुटेका छन् । आजको स्थायी कमिटीको बैठक प्रभावित पारेका ओलीलाई भेट्न दाहाल सरकारी निवास नै पुगेका छन् । उनीहरुको साथमा पार्टी महासचिवसमेत सरिक रहेको बताइएको छ ।

बैठकअघिको भेटमा ओलीले दाहाललाई प्रस्ताव फिर्ता नलिएसम्म आफू कमिटीको बैवकमा उपस्थित नहुने भन्दै भनेका थिए । खासगरी ओलीले मंगलबार आफूखुशी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराएपछि थप पेचिलो बनेको नेकपा विवादले पार्टीको आयुलाई घटाउने काम गरेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

महासचिवसहितको वार्ताले के निष्कर्ष निकाल्छ, यो हेर्न बाँकी छ । हुन त यति लामो रस्साकस्सी हुँदासम्म पनि नजुटेको सहमति एकछिनको बसाइमा जुट्ने सम्भावना एकदमै न्यून छ ।

अध्यादेशविरुद्ध दुई रिट
यता मंगलबार जारी अध्यादेशविरुद्ध दुई रिट सर्वोच्चमा दायर भएका छन् । अधिवक्ताद्वय ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले अध्यादेशलाई चुनौती दिँदै सर्वोच्चमा रिट दायर गराएका हुन् ।

प्रतिक्रिया