मेस्सी र ग्रिजमेन लयमा फर्किए बार्सिलाेनालाई राेक्न असंभव

एजेन्सी । स्पेनिस क्लब रियल सोसिडाडका मुख्य प्रशिक्षक इम्यानोल एल्गुआसिलले बार्सिलोनाका कप्तान लियोनल मेसी र ग्रिजम्यान लयमा फर्किएमा बार्सिलोनालाई रोक्न असम्भव हुने बताएका छन्।

बार्सिलोना र रियल सोसिडाडबीचको महाभिडन्तअघि बोल्दै उनले बार्सिलोनाका दुई स्टारलाई रोक्न मुश्किल हुने बताएका हुन्। ‘बार्सिलोना बलियो अवस्थामा छ। बार्सिलोनाले खेल जित्नको लागि पर्याप्त अवसरहरु सिर्जना गर्न सक्छ,’ एल्गुआसिलले भने।

‘बार्सिलोनाले पर्याप्त सटहरु प्रहार गर्छ तर, ती सटहरु टार्गेटमा पर्दैनन्,’ उनले भने, ‘बार्सिलोनाले रियल बेटिसविरुद्ध ५ र भिल्लारियलविरुद्ध ४ गोल गरेको अवस्था पनि छ।’

‘लियोनल मेसी अहिले पनि ला लिगाको सर्वोत्कृष्ट खेलाडी हुन्। मेसीले विपक्षी टिममाथि निरन्तर दबाब दिन सक्छन्। त्यस्तै, ग्रिजम्यान राम्रो खेलका लागि प्रयास गरिरहेका छन्। उनी गोल गर्न सक्ने क्षमता भएका खेलाडी हुन्,’ एल्गुआसिले थपे, ‘उनीहरु दुबै उच्च लयमा रहेमा बार्सिलोनालाई रोक्न असम्भव हुनेछ।’

ला लिगामा बुधबार राति १ः४५ बजे बार्सिलोना र रियल सोसिडाडबीच प्रतिस्पर्धा हुँदैछ। जारी सिजन खराब अवस्थामा रहेको बार्सिलोना लयमा फर्कन संघर्ष गरिरहेको छ। रियल सोसिडाडले यस सिजन उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ।

१३ खेलबाट २६ अंक जाडेको सोसिडाड अंक तालिकोको शीर्षस्थानमा छ। ११ खेलबाट १७ अंक बटुलेको बार्सिलोना ८ औं स्थानमा छ।

प्रतिक्रिया