सुनसरी कांग्रेसद्धारा ‘केपी ओली जिन्दावाद’को खण्डन

धरान । नेपाली कांग्रेसले गत मंसिर २९ गते देशव्यापी गरेको विरोध प्रदर्शनको क्रममा सुनसरीमा ‘केपी ओली जिन्दावाद’को नारा नलगाएको प्रष्ट्याएको छ ।

सुनसरीको प्रदर्शनमा ‘केपी ओली जिन्दावाद’ भन्दै नारा लगाएको भनि केही सञ्चार माध्यमले समाचार संप्रेषण गरेकोप्रति सुनसरी कांग्रेसले गम्भिर आपत्ति जनाउँदै समाचारको खण्डन गरेको हो ।

पार्टी सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले तामाङले विज्ञप्ति जारी गर्दै समाचारको भत्र्सना र खण्डन गरेका छन् ।

विज्ञप्तिमा ओली सरकारबाट भएको व्यापक भ्रष्टाचार, अधिनायकवाद, सर्वसत्तावाद र अलोकतान्त्रिक कार्यशैली तथा कोरोना महामारीमा देखाएको लाचारीपनाको विरुद्धमा सुनसरीमा मात्र नभएर देशको ७७ वटै जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरुवाट समेत ओली सरकारको चर्को विरोध गरिएको प्रष्ट हुँदाहुँदै ओलीको जयजयकार गरेको भनि समाचार संप्रेषण हुनु प्रेस जगतका लागि पनि उचित नभएको जनाउँदै सही र सत्य समाचार प्रकाशन गरी प्रेसप्रतिको जनविश्वास कायम राख्न समेत सुझाइएको छ ।

मंसिर २९ गते नेपाली कांग्रेसले देशब्यापी रुपमा गरेको सरकार विरोधी पदर्शनमा मोरङको बुढीगंगा गाउँपालिकामा भने ‘केपी ओली जिन्दावाद’ भन्ने नारा लागेको थियो ।

प्रतिक्रिया