सभापतिलाई गगनको सल्लाह–‘उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ’

काठमाडौं । बुधबार (आज) १ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उच्च पदाधिकारी बैठक बस्दैछ । खासगरी मंगलबार प्रधानमन्त्रीसमेत रहेका संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूल परिषद्सम्बन्धी अध्यादेश जारी गराएपछि कांग्रेसले पनि उच्च पदाधिकारीको बैठक बोलाएको हो ।
उक्त बैठकमार्फत् उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गर्नेलगायतका मागहरु राख्न कांग्रेस सांसद गगन थापाले आफ्नो सभापतिसँगै शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । ‘पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौँ, बरालिएका केपी शर्मा ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौँ, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजाऔँ, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ’, सामाजिक सञ्जाल ट्वीटरमार्फत् सांसद थापाले भनेका छन्, ‘यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ । आज बैठक बस्दै हुनुहुन्छ, पार्टी सभापतिलाई फेरी विनम्र अनुरोध ! संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ । उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ । उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ । संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ ।’
यसअघि हिजै पनि सांसद थापाले संवैधानिक परिषद्सम्बन्धीको अध्यादेश कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने चुनौती दिएका थिए । अहिले १ बजेदेखि कांग्रेस पनि छलफलको लागि जुट्दैछ । उक्त बैठकमार्फत् उल्लिखित मागहरु गर्नुपर्ने भन्दै सांसद थापाले आफ्ना नेताहरुलाई सल्लाह दिएका हुन् ।








