लाखौँ खर्च गरेर बनाइएका एकीकृत बस्ती अलपत्र

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरो पीडितका लागि बनाइएको एकीकृत बस्ती अलपत्र परेको छ ।

निर्माण गरिएका बस्तीमा बिजुली, शौचालय तथा खानेपानीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर बनाइएका संरचना अलपत्र परेका हुन् ।

तीन वर्षअघि पहिरोबाट विस्थापित भएका ३ र ४ नम्बर वडाका स्थानीयका लागि फालेलुङ गाउँपालिका र १ नम्बर प्रदेश सरकारको सहयोगमा बस्ती निर्माण गरिएको हो । तर, अझै आवश्यक पूर्वाधार भने निर्माण हुन सकेको छैन ।

प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको १७ लाख बजेटमा १५ घर निर्माण भएका छन् । तीन वर्ष अघि गएको पहिरोबाट ४८ परिवार विस्थापित भएका थिए । एकीकृत बस्ती हस्तान्तरण हुन नसक्दा उनीहरू अहिले पनि आफन्तको शरणमा छन् । यता, आवश्यक पूर्वाधारहरू पूरा गरेर तत्कालै बस्ति हस्तान्तरण गर्ने तयारी भईरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले बताए ।

चैतसम्ममा बस्ती हस्तान्तरण गर्ने तयारीमा आफूहरू जुटेको वडा अध्यक्ष वीरविक्रम थाम्सुहाङको भनाइ छ ।

प्रतिक्रिया