‘राष्ट्रपति प्रधानमन्त्रीकाे कारिन्दा, संविधानकाे भक्षक’ तरूण दल

काठमाडौं । नेपाल तरुण दलले कम्युनिस्ट सरकारको सर्वसत्तावाद विरुद्ध सडक संघर्ष सुरु गरिसकेको बताएको छ ।
मुलुककै सम्मानीत संस्था राष्ट्रपति पद समेत प्रधानमन्त्रीको कारिन्दा जस्तो बनेर संविधानको भक्षक जस्तो बनेको देखिएको बताउँदै तरुण दलले प्रधानमन्त्रीको स्वेच्छाचारी अधिनायकवाद विरुद्ध संघर्ष गर्नुको विकल्प नरहेको बताउँदै राष्ट्रपतिलाई महाभियोग लगाउन समेत माग गरेको छ ।

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले एक विज्ञप्ति जारी गरी प्रमुख प्रतिपक्षी दल लगायतका विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौ देखि संसदलाइ बन्धक बनाएर र उप–सभामुख जस्तो गरिमामय पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वैच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अत्यन्तै अलोकतान्त्रिक, संविधानको मर्म र भावना विपरीत रहेको समेत बताएका छन् ।

उनले प्रधानमन्त्रीले तुरुन्त उक्त अध्यादेश फिर्ताका लिएर संसदीय मुल्य र मान्यताको रक्षा गर्न भनेका छन् । ‘अध्यादेश लाई टेकेर तत्काल कुनै पनि निर्णय नगर्न नेपाल तरुण दल केन्द्रीय समिति अनुरोध गर्दछ । संसदीय मुल्य मान्यता बोकेका मुलुकहरुले सबै समस्याको समाधान संसदबाट नै खोज्नु पर्छ भन्ने मान्यता तरुण दलले राख्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बस्नेतले राष्ट्रपतिको भुमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संबिधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न जोडदार माग गरेका छन् । साथै उनले माउ पार्टी नेपाली कांग्रेसले सर्बसत्ताबादका विरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने पनि बताएका छन् ।

प्रतिक्रिया