पुष लागेसँगै बढ्यो चिसो, कस्तो रहला आजको मौसम ?

काठमाडौं । पुष लागेसँगै चिसो बढेको छ । काठमाडौं उपत्यकाको तापक्रम घट्दै गएको छ भने तराईसहित देशका धेरै ठाउँमा राम्रोसँग घाम लाग्न नसक्दा बढी चिसोको महशुस भएको हो ।
तराईमा हुस्सुसँगै चिसो हावा चलेपछि धेरैजना घरबाट बाहिर निस्कन सकेका छैनन् । बजारमा पनि चहलपहल कम हुँदै गएको छ । काठमाडौं उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ३ सेल्सियस मापन गरिएको थियो ।
राति आकाश खुलेकाले बिहानको तापक्रम घटेको मौसमविद् गंगा नगरकोटीले बताइन् । उनका अनुसार राति आकाश खुले जमिन चिसो भएर बिहानको तापक्रम घट्ने गर्छ ।
कस्तो रहला आजको मौसम ?
अहिले प्रदेश २, बागमती प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली तथा पूर्वी र पश्चिमी तराईका केहि भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको प्रभावले मौसम बदली भएको हो ।
- यस्तो छ तीन दिनको पूर्वानुमान
पौष १ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश २, तथा गण्डकी प्रदेशका भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आँशिक बदली रहनेछ ।
राती: देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २ गते (बिहिबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ३ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
तराईका अधिकांश भु-भागहरुमा तथा पहाडका केही भू-भागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।








