५ महिनामा ३ करोड राजस्व संकलन

ध्रुवराज खनाल –

चितवन । चितवनको खैरहनी नगरपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा ३ करोड भन्दा बढी राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि मंसिर मसान्तसम्म ३ करोड ६ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाले जनाएको छ ।

संकलित राजस्व मध्ये ५३ लाख ७० हजार ९३५ रुपैयाँ लागत सहभागिताको रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपानेले बताए । हालसम्म सबैभन्दा धेरै एकीकृत सम्पत्ति करबाट ९१ लाख ९६ हजार ७३२ रुपैयाँ, घर जग्गा रजिस्ट्रेसनबाट ४२ लाख ८३ हजार ११८ रुपैयाँ , ब्यवसाय रजिस्ट्रेसन दस्तुरबाट ४२ लाख ६८ हजार २६० रुपैयाँ, घर बहाल करबाट १८ लाख ३५ हजार ३४२ रुपैयाँ संकलन भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

त्यस्तै नक्सापास दस्तुरबाट १२ लाख ६२ हजार ६१ रुपैयाँ, सिफारिस दस्तुरबाट १२ लाख ३०० रुपैयाँ, भुमिकर÷मालपोतबाट ४ लाख २० हजार ९६५ रुपैयाँ, बांडफांड भइ प्राप्त हुने मूल्य अभिवृद्धि करबाट ५ लाख ३१ हजार २६१ रुपैयाँसहित अन्य शीर्षकबाट राजस्व संकलन भएको छ । यस चालू आर्थिक वर्षमा खैरहनीले १० करोड २५ लाख रुपैयाँ आन्तरिक श्रोतबाट राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । गत वर्ष ९ करोड २५ लाख संकलन गर्ने लक्ष्य लिइएकोमा १२ करोड भन्दा बढी संकलन भएको थियो ।

खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले सबैको अथक प्रयासले राजस्व संकलनमा सफलता मिलेको बताए । जनप्रतिनिधि निर्वाचित हुँदाको वर्ष खैरहनीमा १ करोड रुपैयाँ मुस्किलले संकलन हुन्थ्यो । ‘आन्तरिक आम्दानी बढ्दै जानु सुखद पक्ष हो’ मेयर चौधरीले भने,‘ दीर्घकालका लागि आफै मजबुद हुने अवस्थाको श्रृजना भएको छ ।’

प्रतिक्रिया