शास्त्रीय सङ्गीतका महान् गायक कामतले गरे इटहरीमा ‘गुरु सङ्गीत पाठशाला’ को थालनी

भरतराज शर्मा(गोपाल)-

धरान। शास्त्रीय सङ्गीतका महान् गायक गुरुदेव कामतले सुनसरीको इटहरीमा ‘गुरु सङ्गीत पाठशाला खोलेका छन् । करिब ४० वर्ष सङ्गीतमा बिताएर हजारौँ गायक जन्माएका गुरु कामतले आफ्नै सङ्गीत पाठशालाको थालनी गरेका हुन् ।

नेपालका ख्याति प्राप्त आधुनिक तथा शास्त्रीय सङ्गीतका गायक तथा कलाकार समेत रहेका कामतले इटहरी उपमहानगरपालिकाको मुलगेट पश्चिम अङ्कुर बचत तथा सहकारी भएको भवनको माथिल्लो तल्लामा ‘श्री गुरु सङ्गीत पाठशाला नामक केन्द्र’ को स्थापना गरेका छन् । पुस १ गतेबाट औपचारिक रूपमा विद्यार्थी भर्ना गरिने छन् ।

दिन प्रतिदिन नेपाली समुदायको जनघनत्व वृद्धि भइरहेको र नेपाली समुदायमा पनि गीत तथा सङ्गीतप्रति अभिरुचि बढ्दै गएको हुँदा सङ्गीत विद्यालय आफ्नै गाउँ ठाउँमा नै खोलिएको कामतले जानकारी दिएका छन् । उनले थप उक्त विद्यालयमा शास्त्रीय तथा आधुनिक गीत सङ्गीतका सबै विषय समेट्ने बताए।

उनले भने,‘काठमाडौँका गल्लीपिच्छे सङ्गीत इन्स्टिच्युट छरिएका छन्। तर राम्रा कलाकारको उत्पादन हुन सकेको छैन। इन्स्टिच्युटका सङ्गीत प्रशिक्षकहरूको स्तर पनि चित्तबुझ्दो छैन, अबको स्थानीय तहमा नै सबैको सामान पहुँचे भएकोले आफ्नै गाउँ ठाउँमा आएर प्रदेश १ मात्र नभई देशभरका सबै सङ्गीत प्रेमीहरूका लागि अवसर मिलोस् भनेर आफूले सुनसरीको इटहरीलाई नै रोजेको हो ।’

उनले हालसम्म आफूले २०/२५ हजारभन्दा बढीलाई औपचारिक सङ्गीत प्रशिक्षण दिएको बताए । उनले दिएको प्रशिक्षणले मिहेनतीहरुको भने प्रगति राम्रै पाएको अनुभव पनि सुनाए । पहिला रुचि भएकाहरूले सङ्गीत सिकेको सम्झना गर्ने उनी अहिले रुचि र चर्चाको लागि सङ्गीत सिक्न आउनेको सङ्ख्या बढेको बताउँछन् । पैसा भएपछि गीत गाउन सकिन्छ भन्ने मान्यता यस्तै प्रवृत्तिले स्थापित भएको उनको अनुभव छ।

सङ्गीत सिकाउने असल प्रशिक्षकको पनि अभाव देख्छन् उनी । ‘प्रशिक्षक अनुसार पनि सङ्गीत सिक्ने शैलीमा असर पर्छ। सङ्गीतबारे नबुझेका मान्छे प्रशिक्षक भएको देखेको छु। यसबारे सम्बन्धित निकायले पनि ध्यान दिनुपर्छ,’ कामतले भने ।

उनले यसअघि कलानिधि इन्दिरा र डोरेमी सङ्गीत प्रशिक्षण केन्द्रमा लामो समय ज्ञान सीप बाँडेका थिए।
गुरुकुल सङ्गीत पाठशाला, नेपालका चलेका सङ्गीत सिकाउने इन्स्टिच्युट मध्येका एक हुन्।

कामतका अनुसार गायन क्षेत्रको जिउँदो इतिहास बोकेर पूर्वी नेपालको केन्द्र बिन्दु इटहरीमा सुरुवात गरेको ‘गुरु सङ्गीत पाठशाला’मा भर्ना शुल्क एक हजार लाग्ने छ । मासिक शुल्क सङ्गीतको कोर्स अनुसार १५ सयसम्म लाग्ने छ । सिक्न आउनेहरूको कुनै उमेर तथा जातभातको विभेद गिरिने छैन । आफूमा जिज्ञासा हुने जो कोहीले पनि यस गुरु सङ्गीत पाठशालामा आएर सङ्गीत प्रशिक्षण लिन सक्ने छन् । कार्यक्रमको शुभारम्भ उक्त विद्यालयका गुरु तथा प्रशिक्षक कामतले नै गरेका हुन् ।

प्रतिक्रिया