नाका बन्द रहेकै बेला दुई करोड त्रिपन्न लाखको सामान हिल्साबाट आयात

सिमकोट । कोरोना संक्रमणका कारण चीनसँगको हिल्सा नाका बन्द रहेकै बेला उत्तरी हुम्लाका लागि बाह्र गाडी सामान नेपाल आयात भएको छ ।

नाम्खा गाउँपालिका विशेष पहलमा वडा नम्बर १ देखि ५ सम्मका स्थानीयको आवश्यकतालाई चिनियाँ दूतावाससँगको समन्वयमा सो सामान आयात भएको हो ।

दैनिक उपभोग्य वस्तु र लत्ताकपडा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै आयात भएको गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाले बताए । ताक्लाकोटमा रका व्यापारीहरुले दुई करोड ५३ लाख मुल्यका मैदा, चामल, तेल, चिया, जुता, कम्बल लगायतका सामानहरु खरिद गरेर पठाएका हुन् ।

ताक्लाकोटमा रहँदै आएकी कैलाश व्यापार संघकी उपाध्यक्ष लामु लामाले १२ वटा गाडीमा सामान ढुवानी गरेर हिल्सामा गाउँपालिका उपाध्यक्ष पेमा लामाको जिम्मा लगाएकी हुन् ।

नाम्खा गाउँपालिकाको लागि खाद्यान्न तथा लत्ता कपडा चीनसँग निर्भर रहँदै आएको छ । गत वैशाख महिनामा नाका खोल्नुपर्नेमा यस वर्ष कोरोनाको कारण नाका खुलेको थिएन ।

गाउँपालिकाले नाम्खा गाउँपालिकाका जनताको लागि आवश्यक सामानको चीनबाट व्यवस्था गर्न नेपालस्थित चिनियाँ दूतावासबाट पहल गरेको अध्यक्ष लामाले जानकारी दिए । वर्षेनी  पचास करोड भन्दा बढीको सामान हिल्साबाट नेपाल भित्रिने गरेको थियो ।

सामान नाम्खाका पाँच वटै वडाका बासिन्दाहरुलाई बिक्री गर्ने गरिनेछ । त्यसका लागि वडा अध्यक्षलाई सबै घरधुरीको विवरण माग गर्ने तयारी गाउँपालिकाले गरेको छ । सामान अरु गाउँपालिकामा भने जाने छैन ।

प्रतिक्रिया