वीपी प्रतिष्ठानमा खानेपानी आपुर्ति समस्या समाधान गर्न समिति गठन

धरान । वर्षौंदेखि खानेपानी आपुर्तिको समुचित व्यवस्थापन नहुँदा समस्या झेलिरहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिर्घकालिन समाधानका लागि पहल थालेको छ । प्रतिष्ठानमा सहज रुपमा खानेपानी आपूर्ति गराउन भएका संरचनाहरुको अवस्था पत्ता लगाउन प्राविधिक समिति नै गठन गरीएको छ ।

आज बिहान धरान उपमहानगरपालिका, खानेपानी संस्थान र प्रतिष्ठानबीच बसेको त्रिपक्षीय बैठकले ५ सदस्यीय समिति गठन गर्दै खानेपानी समस्या दिर्घकालिन रुपमा हल गर्ने निर्णयमा पुगेको हो ।

प्रतिष्ठानका चिफ इञ्जिनियर इलेक्ट्रिकल नेत्र खड्काको संयोजकत्वमा गठित समितिको सदस्य सचिवमा प्रतिष्ठानका इञ्जिनियर विकास बस्याल रहेका छन् । सदस्यहरुमा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी अधिकृत इन्जिनियर राजु पोख्रेल, संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठ र बोर्डका इञ्जिनियर प्रशान्त अधिकारी छन् ।

गठित समितिले २ दिनभित्र प्रारम्भिक रिपोर्ट बुझाउने तथा संस्थान, प्रतिष्ठानको जिम्मेवारीमा परेको मर्मत तथा निर्माण कार्य ७ दिनभित्र सम्पन्न गर्नुपर्ने छ ।

धरानको खानेपानी संस्थानको सम्पुर्ण सम्पत्ति तथा दायित्व धरान उपमहानगरपालिकाद्वारा गठित धराज खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण हुने भएकोले वीपी प्रतिष्ठानको खानेपानी आपूर्तिको संरचनाहरुको अध्ययन शुरु गरिएको हो ।
प्रतिष्ठानले आफ्नो खानेपानी संरचनाहरुको सञ्चालन तथा रेखदेखको जिम्मा धरान खानेपानी संस्थानलाई दिँदै बार्षिक ८० लाखभन्दा बढि रकम संस्थानलाई तिर्ने गर्दथ्यो ।

त्रिपक्षीय बैठकमा प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, संस्थानको धरान शाखा प्रमुख रामकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यसअघि मंसिर २८ गते धरान उपमहानगरपालिकाका मेयर तिलक राई, खानेपानी संस्थानका धरान प्रमुख राम कुमार श्रेष्ठ, प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी लगायत प्राविधिकहरुको टोलीले प्रतिष्ठानको खानेपानी वितरणको सिस्टमको स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनमा प्रतिष्ठानमा खानेपानी आपुर्ति हुने सिष्टम जिर्ण भएको, मर्मत संभार नभएको पाइएको थियो ।

प्रतिक्रिया