बलात्कारका आरोपि बम्जनले अदालतको म्याद गुजारे, अब के हुन्छ ?

काठमाडौं । बलात्कार आरोपमा मुद्दा चलाइएका तपस्वी रामबहादुर बम्जनले अदालतको हाजिर हुने म्याद टारेका छन् ।

जिल्ला अदालत सर्लाहीले आफ्नै अनुयायी किशोरीलाई बलात्कार गरेको, यातना दिएको आरोप लागेका बम्जनलाई कात्तिक २४ गते बाराको निजगढ नगरपालिका १२ स्थित उनकै घरमा ३५ दिने सूचना टाँस गरी अदालतमा हाजिर हुन भनेपनि उनी उपस्थित भएका छैनन् ।

बम्जनलाई १८ वर्षीय किशोरीमाथि बलात्कार गरेको आरोप छ । अदालतको म्याद गुजारेपछि उनलाई झनै सकस हुने जिल्ला अदालत सर्लाहीका एक अधिकारीले भने । ‘उहाँले म्याद गुजार्न भएको अब अब किशोरीको एकतर्फी बयान लिएर प्रक्रिया अगाडी बढ्छ ।’ सर्लाही अदालतका एक अधिकारीले भने ।

अब किशोरीको बकपत्र पछि बम्जनले वकिल समेत राख्न पाउने छैनन् । अब किशोरीको बकपत्र र मेडिकल रिपोर्टको आधारमा अदालतले फैसला गर्न सक्छ ।

बम्जनलाई प्रहरीले फरार प्रतिवादी भनेको छ । उनी बस्ने आश्रमहरुमा प्रहरीले छापा मारेपनि बम्जनलाई पक्राउ गर्न सकेको छैन । बम्जन बस्ने सिन्धुलीस्थित आश्रममा दुई पटक छापा मार्दा प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । २०७६ माघ २३ गते जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

२०७६ माघ २४ गते तथा २०७७ असार ४ गते बम्जनलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा प्रहरी टोली सिन्धुली पुगेको थियो ।

उनलाई १८ वर्षीय किशोरीले सर्लाहीको पत्थरकोटस्थित आश्रममा २०७३ साउन २० गते राति बलात्कार गरेको आरोप लगाएकी छन् । बलात्कार गरिसकेपछि घटना बाहिर नल्याउन बम्जनले धम्की दिएको पनि ति किशोरीले बयानका क्रममा भनेकी छन् ।

यता प्रहरी प्रतिवेदनमा बम्जनले बाल यौन शोषण गरेको भन्दै बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ (३) (छ) र (ज) बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ । बम्जनलाई सोही ऐनको दफा ७२ को उपदफा (३) (छ) मा परिभाषित मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३) (ग) अनुसार सजाय माग गरिएको छ ।

प्रतिक्रिया