अध्यक्ष लोहनीको प्रश्न- जनतामारा सरकारको नाटक सहेर कहिलेसम्म चुप बस्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनतामारा सरकारको नाटक सहेर बस्न नहुने बताएका छन् । सामाजिक संजाल फेसबुकमार्फत टिप्पणी गर्दै अध्यक्ष डा. लोहनीले जनतामारा सरकार नाटक सहेर जनता कहिलेसम्म चुप लागेर बस्ने भन्दै प्रश्न गरेका हुन् ।
सरकार भ्रस्टाचारमै लिप्त रहेका बेला जनताको विचल्ली भएको उनको तर्क छ । ‘धान खेती गर्ने किसानले समयमा मल नपाएर रुनु पर्ने, उखु खेती गर्ने किसानले पाउनुपर्ने उखु मूल्य नपाएर काठमाडौँको जाडोमा कामेर जुलुस गर्नुपर्ने,’ लोहनीले भनेका छन्- ‘उखुको पैसा नतिर्ने साहुहरु सरकारको न्यानो माया पाउने ?’
जनताको साथमा रहनुपर्ने सरकार आफै झगडामा व्यस्त रहेको भन्दै लोहनीले भने- ‘समाजवाद उन्मुख सरकार चाँहि झगडा गरेर जनतालाई मुर्ख बनाएर अग्रगामी नारा दिएर लुट मा व्यस्त हुने, अनि यो जनतामारा नाटक सहेर जनता कहिले सम्म चुप लगेर बस्ने ?’








