भूमि सुरक्षा गर्न बीओपी विस्तार – गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकको भूमि सुरक्षाका लागि सरकारले बोर्डर आउटपास पोस्ट विस्तार गरिरहेको बताएका छन् । शशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढिमाइ बाहिनी मुख्यालय चितवनको उद्घाटन गर्दै गृहमन्त्री थापाले मातृभूमि रक्षामा खट्न पनि शसस्त्र प्रहरीलाई निर्देशन दिए ।
भूमिकाे सुरक्षाकै लागि सरकारले चालू आर्थिक वर्षमा २२१ वटा बीओपी स्थापना गर्न लागेको गृहमन्त्री थापाले बताए । हाल सम्म १९४ वटा बीओपी स्थापना गरिसकेकोमा ८७ वटा नयाँ हुन् । ‘मुलुकको दक्षिणी भुभागमा मात्र बीओपी स्थापना भएका सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उत्तर तर्फ पनि बिओपी थपिएको छ’, गृहमन्त्री थापाले भने । उनले सशस्त्र प्रहरीलाई व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि गर्दै प्रविधिमैत्री बन्न सुझाव दिए ।
सामुहिक प्रयासले मात्र समृद्ध नेपाल बन्ने भएकाले त्यसमा सुरक्षाको प्रमुख भूमिका हुने उनले बताए । शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले छोटो समयमा जिम्मेवारी पूरा गरेर सशस्त्र प्रहरीले जनताको मन जितेकाले सोही अनुसार काम गर्न निर्देशन दिए । बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले बाहिनिको बस्तुस्थितिका बारे गृहमन्त्री थापालाई जानकारी गराएका थिए ।








