कोरोना महामारीको दोस्रो लहर कसरी रोकथाम गर्ने ?

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ ।हिजोमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो । कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन्  ।
नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ । यो महामारीलाई नियन्त्रण गर्नको लागि हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छोडेर समाजको लागि योगदान गर्नु अपरिहार्य बनेको छ ।
के गर्ने त दोस्रो लहर रोकथामको लागि ?
– १०० दिन मास्क अभियान :
सरकारी तथा गैह्र सरकारी निकायले १०० दिन मास्क अभियान सञ्चालन गरौँ । यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए/नभएको ब्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्ने  गराैं। सामाजिक संघ संस्थाले स्वयंसेवीको रुपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने । सञ्चार माध्यमले मास्क अभियान सञ्चालन गर्ने । घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिबार्य रुपमा मास्क लगाउने गराैं ।
– पठनपाठन बारे :
सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासिन देखिएको अवस्था छ । परीक्षण न्यून भएकोले तथा परीक्षण गर्नेले औपचारिक कामको लागि परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको बास्तबिक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा बिद्यालय तथा कलेज यथास्थितिमा सञ्चालन गर्ने अर्थात अनलाइन/अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ । घटीमा पौष र माघ स्कुल/कलेज नखोल्नु जनस्वास्थ्यको दृष्टिकोणले सुरक्षित हुनेछ ।
बिद्यालय खुलेपछि बिभिन्न ठाउँका हजारौं बिद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर जेष्ठ नागरिक तथा दीर्घबिरामीलाई सर्ने जोखिम हुन्छ । यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ । तसर्थ २ महिना स्कुल बस तथा सौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको ब्यबस्था गर्ने, दुरी कायम गर्नको लागि कक्षा कोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क/स्यानिटाइजर/पानी/साबुन/आइसोलेसन कक्ष आदिको ब्यबस्था गर्ने लगायतका तयारी गर्नुपर्ने हुन्छ ।
– मालपोत, यातायात कार्यालय, वडा, बिद्युत महाशुल तिर्ने काउन्टर लगायत ठाउँमा भीडभाड हुन नदिने । यसको लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत : नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने ब्यबस्था गर्ने ।
– लामा बस जोर/बिजोर दुवै सञ्चालन गर्ने । सार्वजनिक बसमा मापदण्ड अनुगमनको ब्यबस्था गर्ने ।
– भोजभतेर/जमघट आदि हुन नदिने । त्यसको अनुगमन तथा निगरानी गर्ने ।
– जेष्ठ नागरिक तथा दीर्घ बिरामी (दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसमँग घुलमिल नहुने ।

– वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजि क्षेत्रले अध्यावधिक गर्ने ।
– घर/छिमेक/अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणको लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसनमा बस्नको लागि प्रेरित गर्ने । रुघाखोकी लागेपनि सेल्फ आइसोलेसनमा बस्ने ।
– कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने ।
– संक्रमितलाई अक्सिमिटर/थर्मोमिटर/मास्क/स्यानिटाइजर/गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने ।
– होम आइसोलेसनको अनुगमन/निगरानी गर्ने ।
– भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर/बिजोर गरेर खोल्ने ।
– फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डपजस्तै खुला ठाउँमा ब्यबस्थित रुपमा राख्ने ।
– अत्यावश्यक यात्रा नगर्ने ।
– सरकारी तथा गैह्र सरकारी कार्यालय खोल्ने/बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्याण्डको जामलाई न्यूनीकरण गर्ने ।
– बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने । झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने ।
– जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडीजस्ता लोकप्रिय कलाकारमार्फत बिज्ञापन/टेलिफ्लिम बनाएर प्रकाशन/प्रसारण गर्ने ।
– सबैजनाले ‘ म संक्रमित हुँदिन, मेरो परिवार संक्रमित हुँदैन’ भन्ने प्रण गरेर मास्क, दुरी र सफाइमा बिशेष ध्यान दिने ।
– सिमा/नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने ।
यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने/गराउनेमा सबै जागरुक बनौं । कोरोना महामारीको दोस्रो लहर रोकथामको लागि सबैजना सम्बेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं ।
प्रतिक्रिया