धरानका तीन वडामा खहरे करिडोर निर्माण हुँदै

- भरतराज शर्मा (गोपाल)
सुनसरी । जिल्लाकाे धरानमा उपमहानगरपालिका अन्तर्गत नगरको गौरवको आयोजनाको रुपमा छनौट भएका तीन वटा वडाको खहरे करिडोर निर्माण कार्य सुरू हुने भएकाे छ । वडा नं. ८, १६ र १९ मा एक/एक वटा खहरे करिडोर एउटै प्याकेजमा निर्माण हुन लागेकाे हाे । ठेक्का सम्झाैता समेत भइसकेकाे छ ।
वडा नं. १६ र १९ मा यसपटक खहरे खोलाको एकातर्फ मात्र करिडोर बन्नेछ भने वडा नं ८ स्थित तीनढ्वाङ्गे खहरेमा दुवैतर्फ करिडोर निर्माण हुनेछ । बहुवर्षीय योजनामा तीन वटा करिडोरका लागि ६ करोड बजेट विनियोजन भएकोमा भ्याट सहित ४ करोड ९५ लाख १७ हजार ३ सय ८१ रुपैयाँमा ठेक्का सम्झाैता भएकाे जानकारी दिइएकाे छ ।
यस बिषयमा आइतबार नै वडा नं. ८ को तीनढ्वाङ्गे खोलामा जनप्रतिनिधि, करिडोर पहल समिति र प्राविधिक इञ्जिनियरकाे टाेलीले करिडोर दाँयाबाया बाटोको एलाइमेन्ट छुट्याएको छ । उपमहानगरपालिकाका ईञ्जिनियर प्रभात तामाङका अनुसार तीनकुनेबाट वीपी जाने पुरानो बाटोमा पर्ने तीनढ्ङ्गे खोलाको दाँया बाँया निर्माण हुने बाटो उत्तरमा ट्रष्ट पुलसम्मको एलाइमेन्ट छुट्याइएको हो । खोलाको भाग २० फुट छोडेर दुवैतर्फ रिटेनिङ वाल निर्माण हुनेछ । त्यसपछि खहरेको दुवैतर्फ १४ फुटको बाटो निर्माण गरिने र ’साइट क्लियरेन्स’ भएपछि ठेकेदारले निर्माण कार्य अघि बढाउने उनले जानकारी दिए ।
उता प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आइतबार नै शिलान्यास गरिएकाे छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार बिहान ११ बजे शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा पूर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर शृखंला खतिवडा, रमेश प्रसाईं, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
१० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने योजना समेत बनाइएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन समेत गरेको छ ।








