भारतमा किसान संगठनका नेताले गरे भोक हड्ताल, आन्दोलन जारी

नयाँ दिल्ली । किसान बिलको विरोधमा किसान संगठनका नेताहरुले एक दिने भोक हड्ताल गरेका छन् ।

भारतीय किसान युनियनका नेता राकेश टिकट लगायत किसान संगठनका नेताहरू गाजीपुर (दिल्ली-यूपी सीमा) मा एक दिने भाेक हड्तालमा बसेका हुन् । भाेक हड्तालका क्रममा राकेश टिकटले किसानहरु बिच कुनै झगडा नभएकाे बताए ।

यता मोदी सरकारको कृषि कानूनविरुद्ध किसानहरूको आन्दोलन 18 औं दिनसम्म पनि जारी छ । आइतबार राजस्थान, हरियाणा, पञ्जाब, महाराष्ट्र र गुजरात लगायतका अन्य राज्यहरूबाट आएका सयौं किसानहरूले दिल्ली-जयपुर राजमार्गमा प्रदर्शन गरेका थिए ।

आन्दोलनकारी किसानहरूले दिल्लीको बाटो अवरुद्ध समेत गरे तर हरियाणा प्रहरीले उनीहरूलाई राजस्थानको सीमामा रोक्यो । यो मार्चको नेतृत्व स्वराज भारतका योगेन्द्र यादव लगायत किसान संघका संयुक्त मोर्चाका ‘नर्मदा बचाओ’ आन्दोलनका मेधा पाटकरले गरेका थिए । अहिले दिल्ली-जयपुर राजमार्ग बन्द छ ।

किसानहरूले हरियाणाबाट दिल्ली आउने सबै सडकहरू बन्द राखेका छन् । कृषि (खेतीपाती) सम्बन्धी तीन नयाँ कानूनहरू रद्द गर्नुपर्ने किसानहरूकाे माग छ । उक्त किसानविरुद्ध भएकाे उनीहरूकाे भनाइ छ ।

यद्यपी माेदी सरकारले भने केही किसान संगठनहरूले कृषिमन्त्री नरेन्द्र तोमरसँगै नयाँ कृषि कानूनलाई समर्थन गरेकाे बताएकाे छ । भारतीय किसान युनियनका गुरनाम सिंहले सहयोगी संगठनहरू सरकारको हातमा खेलेकाे र त्यस्ता प्रयासहरूले आन्दोलनलाई कमजोर पार्ने बताए । कृषिविरूद्धकाे कानून रद्द नभएसम्म किसान आन्दोलन जारी रहने उनकाे भनाइ छ ।

किसानहरूले कृषि कानुनविरूद्ध विरोध प्रदर्शन जारी राखेका छन् । सरकार र किसानबीच कुनै सहमति भएकाे छैन । हजारौं किसानहरूले दिल्लीको सिमानामा प्रदर्शन गरिरहेका छन् । कानूनको विरोधमा किसान संगठनका नेताहरू एक दिनको भोक हडताल गर्न लागेका छन् ।

प्रतिक्रिया