कोरोनाबाट सबैभन्दा बढी ‘आक्रान्त’ अमेरिकामा खोप दिन थालियो

काठमाडौं । कोभिड-१९ को संक्रमणबाट सबैभन्दा बढी ‘आक्रान्त’ मुलुक अमेरिकाले आजदेखि खोप लगाउने अभियान शुरु गर्दैछ । अमेरिकी अधिकारीहरुले खोप लगाउनका लागि आवश्यक पर्ने सामग्रीको आइतबारदेखि ढुवानीको काम शुरु भएको जनाएका छन् ।

आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार अनुमति दिएको थियो ।

यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानाडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए । विश्वभरि महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण हालसम्म १६ लाख मानिसको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा बढी अमेरिकाका छन् ।

उक्त खोप ७० डिग्री सेल्सियसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । ‘अत्यावश्यक परेका सबैलाई हामीले खोप राम्रोसँग उपलब्ध गराउन सक्छौं भन्ने हामीलाई विश्वास छ, त्यहीअनुसार काम भइरहेको छ,’ खोप वितरण तथा व्यवस्थापन कार्यमा खटिएका एक अमेरिकी अधिकारीले भने ।

उनीहरुका अनुसार शुरुमा यो सप्ताहन्तसम्ममा ३ करोड मात्रा खोप सबै राज्यहरूमा पठाउने कार्य भइरहेको छ । दैनिक मृतकहरुको संख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो ।

अमेरिकामा शनिबार मात्रै एकै दिन ३ हजार ३०९ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो । यो विश्वका कुनै पनि देशमा एकै दिन भाइरसका कारण ज्यान गुमाएकारुको सबैभन्दा ठूलो संख्या हो । अमेरिकामा कोभिड–१९ बाट संक्रमित हुने तथा ज्यान गुमाउने संख्या पछिल्ला दिनहरुमा अत्यधिक रूपमा वृद्धि भएको छ ।

खोप प्रयोग गर्ने पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मंगलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् । पहिलो चरणको खोप वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।

अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिममा रहेका समूहका नागरिकलाई खोप दिइनेछ । यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले फाइजर–बायोएनटेकको खोप आपतकालीन प्रयोगका लागि अनुमति दिन एफडीएलाई सुझाव दिएका थिए ।

चिकित्सकीय परीक्षणमा फाइजरको खोप कोभिड-१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको पाइएको थियो । यो खोप लिएको तीन सातामा दोस्रो डोज दिनुपर्छ । तर माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले फाइजरको खोप ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद्हरुको भनाइ छ । –एजेन्सी

प्रतिक्रिया