मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

प्रमुख समाचारका शीर्षकहरु 
अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने विशेषको आदेश
अब जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सशक्त ढंगले अघि बढ्नु छ : देउवा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
देउवा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित
प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन १
आइतबार थप ८३० जनामा संक्रमण पुष्टि, मृतक संख्या १,६९८ पुग्यो
‘पार्टी फुटि हालोस् भनेर धूप बाले पनि पार्टी फुट्दैन’
‘नारायणकाजीलाई कमानसिंह र हाइड्रोसँग जोडेर प्रचार नगरौं’
ला लिगामा जितको खोजी गर्दै आज बार्सिलोना लेभान्टेसँग भिड्दै
अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी

अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यातलाई थुनामा पठाउने विशेषको आदेश
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ। बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोगमा बस्न्यातलाई आइतबार विशेष अदालत उपस्थित गराएर ४ घण्टा बयान लिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई थुनामा पठाउने आदेश जारी गरेको विशेष अदालतले जनाएको छ । अख्तियारले बस्न्यातमाथि भ्रष्टाचार निवारण ऐनअनुसार तीन वटा अभियोग लगाएको छ। सरकारी सम्पत्ति गैर कानुनी रूपमा अरूको नाममा दर्ता र भोग चलन गराएको, नेपाल सरकारलाइ हानी पुर्‍याउने बदनियतले लिखत तयार गरेको र सरकारी सम्पत्तिको हानी नोक्सानी गरेको अभियोग उनीमाथि छ ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललिता निवासस्थित सरकारी जग्गा व्यक्तिहरूको नाममा सार्न भूमिका खेलेको अभियोग लागेको हो। उक्त समयको न्यूनतम सरकारी मूल्याङ्कन अनुसार भन्दै अख्तियारले बस्न्यातका कारण नेपाल सरकारको ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ नोक्सान भएको निष्कर्ष निकालेको थियो।

उक्त रकमलाई बिगो कायम गरी अख्तियारले त्यति नै जरिवाना र ८ देखि १० वर्षसम्मको कैद सजाय माग गरेको छ। साथै नियतवश गलत लिखत तयार पारेको भन्दै उनलाई ३ महिनादेखि १ वर्षसम्मको थप सजाय र १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना पनि माग गरेको छ। साथै भ्रष्टाचार निवारण ऐन, २०५९ ले नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीले गरेको कसुरमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेबमोजिम बस्न्यातलाई थप त्यस्तो सजायसमेत हुनुपर्ने अख्तियारको माग रहेको छ।

अब जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सशक्त ढंगले अघि बढ्नु छ : देउवा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सशक्त ढंगले अघि बढ्ने बताएका छन् । देउवाले मंसिर २९ गते सोमबार देशभर गर्ने प्रदर्शनलाई सरकारको दबावस्वरुपको सांकेतिक प्रदर्शन भएको बताउँदै त्यस्तो बताएका हुन् ।

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्,‘नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिनु छ, जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नु छ, त्यसकै सुरुआत भोलिको सांकेतिक प्रदर्शन हो ।’

उनले कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आए को बताउँदै सरकारले त्यसलाई कमजोरीका रुपमा बुझ्ने गरेको आरोप लगाएका छन् । उनले भोलिको प्रदर्शनबाट शक्ति हासिल गर्दे आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले अगाडी बढ्ने बताए ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमले जनाएको हो ।

मूल्य बढेसँगै पेट्रोलको बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टीतेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको भाउ भने यथावत राखिएको निगमले जनाएको छ ।

आइओसीले डिसेम्बर एकमा दिएको नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमका प्रवक्ता बिनितमणि उपाध्ययले जानकारी दिए ।

 

देउवा नगएपछि संवैधानिक परिषद्को बैठक स्थगित
प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नहुने भएपछि बैठक स्थगित भएको हो ।

PM_Office

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बिहान ९ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन । संवैधानिक परिषदमा विपक्षी दलको नेता अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन !
काठमाडौंमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

|प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघ|

आइतबार त्रिचन्द्र कलेजबाट नेविसंघका विद्यार्थीहरुले सिठी जुलुश प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् । विद्यार्थी नेताहरुले भोलि हुने कांग्रेसको देशव्यापी प्रदर्शनलाई सहयोग गर्न आह्वानसमेत गरेका छन् । कांग्रेसले भोलि देशव्यापी सरकार विरोधी प्रदर्शनको घोषणा गरेको छ ।
यसअघि आजै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरिएको थियो ।

आइतबार थप ८३० जनामा संक्रमण पुष्टि, मृतक संख्या १,६९८ पुग्यो
पछिल्लो २४ घण्टामा देशभर ८३० कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या १ हजार ५ सय रहेको छ भने थप ९ जनाको मृत्यु भएको छ ।

सांकेतिक तस्वीर। मकालु खबर।

आज क्वारेन्टिनमा ५१६ जना रहेका छन् भने सक्रिय संक्रमित संख्या १० हजार ९९४ रहेको छ।
आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । संक्रमितमध्ये २ लाख ३५ हजार ७३१ जना निको भइसकेका छन् भने मृतक संख्या १ हजार ६९८ पुगेको छ ।

‘पार्टी फुटि हालोस् भनेर धूप बाले पनि पार्टी फुट्दैन’

शहरी विकाश मन्त्री कृष्ण गोपाल श्रेष्ठले विरोधीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन होस् भनेर धूप हाल्नु बेकार भएको बताएका छन् । चाँगुनारायण नगरपालिका द्वारा सञ्चालनमा ल्याइएको अस्पताल उद्घाटन गर्दै उनले भने ‘कसैले धूप बालेर पार्टी फुटी हालोस्, सरकार ढलि हालोस भने पनि कारखानाबाट निकालेर सबै धूप बाले पनि पार्टी फुट्दैंन् ।’

आज एक कार्यक्रमकाबीच शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले उक्त अस्पतालको उद्घाटन गर्दै उनले नेपाली जनताले इतिहास निर्माण गर भनेर नेकपालाई दुई तिहाई नजिकको मत दिएकाले जनचाहाना अनुसार नै नेकपा एक हुने पनि बताए ।

‘नारायणकाजीलाई कमानसिंह र हाइड्रोसँग जोडेर प्रचार नगरौं’

|नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड। फाइल फोटो|

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेका छन् । आइतबार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले श्रेष्ठलाई कमानसिंह र हाइड्रोको विषयसँग जोडेर अनावश्यक प्रचार नगर्न आग्रह गरेका हुन् ।

श्रेष्ठले मिलाउने भूमिका मात्रै खेलेको बताएका अध्यक्ष दाहालले हल्लाको पछाडि नलाग्नसमेत भनेका छन । ‘अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावरसम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गरेका छन् ।’ बैठकको निर्णय सुनाउँदै श्रेष्ठ स्वयम्ले दाहाललाई उदृत गरेर भनेका छन् । आजको बैठक नेकपा नेता तथा पूर्वराजदूत कमानसिंह लामाको निधनको शोक प्रस्ताव पारित गर्दै सकिएको थियो । अर्को बैठक पुनः १ पुषमा बस्ने निर्णय भएको छ ।

ला लिगामा जितको खोजी गर्दै आज बार्सिलोना लेभान्टेसँग भिड्दै
स्पेनिस लालिगामा आज लेभान्टेले बार्सिलोनाको सामना गर्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना सहज जित निकाल्दै अंक तालिकामा आफुलाई अघि बढाउने सोचमा हुनेछ।

लगातार फितलो प्रदर्शन गरिरहेको बार्सिलोना आजको खेलमा भने जित निकाल्ने सोचमा मैदान उत्रिने छ । १० खेलमा १४ अंक सहित ९ औं स्थानमा रहेको बार्सिलोना आजको खेलमा जित निकाल्दै आफुलाई अंक तालिकामा अघि बढाउन चाहन्छ।

त्यस्तै ११ खेलमा ११ अंक सहित १८ औं स्थानमा रहेको लेभान्टे आजको खेलमा जित निकाल्दै आफुलाई रेलिगेसनबाट बचाउने सोचमा बार्सिलोनाको घरेलु मैदानमा उत्रिने छ। यो खेल नेपाली समय अनुसार आज राती १ः४५ मा सुरु हुनेछ।

त्यस्तै आज नै हुने अर्को खेलमा तालिकाको दोस्रोस्थानमा रहेको रियल सोसिडाडले आइबरको सामना गर्दै छ। खेल नेपाली समय अनुसार बेलुका ६ः४५ मा सोसिडाडको घरेलु मैदानमा हुनेछ। सोसिडाडले आजको खेलमा जित निकाल्न सके अंक तालिकामा आफुलाई शीर्ष स्थानमा उकाल्ने छ।

अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी
कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर बायोएनटेक कोरोनाभाइरस खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो । त्यसपछि बहराइन, क्यानडा, साउदी अरबलगायतका देशले पनि प्रचलनमा ल्याउने निर्णय गरेका थिए ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित भएर १६ लाख मानिसको मृत्यु भएपछि सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा खोपको प्रयोग हुन लागेको हो । सो खोप ७० डिग्री सेल्सीयसको तापक्रमसहितको विषेश अवस्थामा मात्रै राख्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

उनीहरुका अनुसार शुरुमा यो सप्ताहन्तसम्ममा तीन करोड मात्रा खोप सबै राज्यहरूमा पठाउउने कार्य भइरहेको छ । दैनिक मृतकहरुको सङ्ख्या उच्च हुँदै गएपछि अमेरिकाले खोप प्रयोगमा हतार गरेको हो । गत शनिबार मात्रै अमेरिकामा एकैदिनमा ३,३०९ जनाको मृत्यु भएको थियो । यो सङ्ख्या अमेरिकामा एकैदिनमा कोरोनाका कारण मृत्यु भएकाहरुको सवैभन्दा ठूलो सङ्ख्या हो । त्यसैगरी यो सङ्ख्या विश्वमै पनि कोरोनाका कारण एकैदिनमा मृत्यु भएकाहरुको सबैभन्दा धेरै सङ्ख्या भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

समय कम देखिएको मृतकको सङ्ख्या अमेरिकामा पछिल्ला केही दिनदेखि फेरी बढ्दै गइरहेको छ । मृतक र सङ्क्रमितहरुको सङ्ख्यामा अत्यधिक वृद्धि भएपछि अमेरिकाले गत शनिबार यो खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो ।

खोप प्रयोग गर्ने पहिलो दिन सोमबार १४५ स्थानमा खोप प्राप्त हुनेछ भने मङ्गलबार ४२५ स्थानमा र बुधबार ६६ स्थानमा प्राप्त हुने अधिकारीहरुले जनाएका छन् । पहिलो चरणको वितरण सकिएपछि केही दिनमै दोस्रो चरणको वितरण पनि शुरु गरिने र यसले धेरैको ज्यान जोगाउने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया