बहुमत र अल्पमतकाे ‘तराजू’मा ओली–दाहाल

काठमाडौं । नेकपाको जारी स्थायी कमिटी बैठक आज दोस्रो पटक बस्दैछ । गत २१ गतेबाट शुरु भएको बैठकले आजका लागि पनि धुम्बाराही पार्टी मुख्यालयमै दिउँसो १ बजेका लागि समय तय गरेको थियो । तर, अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएपछि बैठक प्रधानमन्त्री निवास बालुवाटारमै सारिएको छ ।

योसँगै प्रारम्भको बैठकमा उपस्थित नभएका ओली आजको बैठकमा उपस्थित हुँदैछन् । यस विषयमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले मकालु खबरसँग भनेका छन्, ‘प्रधानमन्त्रीज्यू उपस्थित भएपछि बैठक बालुवाटारमै राखिएको भन्ने जानकारी आएको छ ।’

९ सदस्यीय केन्द्रीय सचिवालयमा नसुल्झिएको नेकपा आन्दारिक विवाद अहिले ४३ सदस्यीय (सभामुख अग्नी प्रसाद सापकोटा र कृष्णबहादुर महराको पद अहिले रिक्त छ) स्थायी कमिटीमा पुगेको छ । यसो हुँदा स्थायी कमिटीले पनि विवाद समाधान त्यति सजिलै गर्न नसक्ने बताउँछिन्, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य । ‘९ जनामा त समस्याको समाधान भएन, खोइ अब यता ४३ जनामा कताबाट समाधान होला र ? तर, छलफल गर्नुपर्छ’, शाक्यले मकालु खबरसँग भनेकि छन्, ‘तर, प्रयास भने गर्नुपर्छ ।’

खासगरी गत २८ कात्तिकको केन्द्रीय सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि थप चिढिएका ओलीले पनि १३ मंसिरको सचिवालय बैठकमै ३८ पृष्ठ लामो ‘काउन्टर प्रस्ताव’पेश गरेपछि पेचिलो बनेको नेकपा विवाद अहिले पनि उस्तै छ ।

ओलीले यी दुवै प्रस्तावबाट साझा प्रस्ताव बनाउनुपर्ने माग गरिरहेका छन् भने दाहाल ओलीको यो प्रस्तावसँग सहमत भएका छैनन् । उनले यसअघि नै भनिसकेका छन्–‘साझा प्रस्ताव बन्ने सम्भावना कम छ ।’ केन्द्रीय सचिवालयमै अल्पमतमा परेका ओलीले गत २१ गतेको बैठकमा आफू उपस्थित नहुनुको कारण पनि दाहालकै प्रतिवेदन भएको पत्रमार्फत् खुलाइसकेका छन् ।

योबीचमा समस्या समाधानको लागि ओलीले धेरै प्रयास गरेपनि उनको प्रयास प्रयासमा मात्रै सीमित देखिएको छ । ओलीनिकट एक स्थायी कमिटी सदस्यले मकालु खबरलाई बताएअनुसार ओलीले यो एक हप्ता (२१ गतेदेखि आजसम्म) मा दाहालसँगै निकास खोज्ने, स्थायी कमिटीमा आफ्नो बहुमत बनाउने र मध्यमार्गी नेताहरुलाई आफ्नो पक्षमा उभ्याउने रणनीति बनाएका थिए । ती सबै रणनीतिहरु असफल भएपछि ओली चिन्तित छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालको दह्रो साथ पाएका दाहाल भने पेलेरै भएपनि अगाडि जाने मनसायमा छन् । यसैकारण दाहालले कमिटी बाहिरका छलफलको कुनै औचित्य नरहने बताउँदै आएका छन् । केन्द्रीय सचिवालयदेखि केन्द्रीय कमिटीसम्ममा बहुमतको साथ पाएका दाहाल–नेपाल कित्ताका नेताहरुले अब ओलीलाई पार्टीले नपर्खिने मात्रै होइन, नेतृत्वविरुद्ध नै निर्मम निर्णय गर्नसक्ने चेतावनीसमेत दिँदै आएका छन् ।

त्यसो त अब विवादको समाधान कसरी होला त ? भन्ने सवालमा स्थायी कमिटी सदस्यद्वय हरिबोल गजुरेल र मातृका यादवको एउटै स्वर छ– ‘विवादलाई अब सहमतिबाटै निकास दिनुपर्छ ।’ मकालु खबरसँग संक्षिप्त कुराकानी गरेका दुई नेताले समस्याको समाधान स्थायी कमिटीले नै गर्ने बताउँदै भनेका छन्, ‘विवाद समाधान अब सहमतिमै गर्नुपर्छ ।’

योसँगै अब आजको बैठक कसरी अगाडि बढ्छ भन्ने उत्सुकता बढेको छ । ओलीले सहमतिमा समस्याको समाधान गर्नुपर्ने सदस्यहरुले बताएका छन् । ओलीले सहमति गर्न सक्छन् वा दाहाल–नेपाल कित्ता बहुमतले ठेलेर अगाडि लान्छन् हेर्न बाँकी छ ।

प्रतिक्रिया