कांग्रेस अब सडक र संसदमा कडा हुँदै, भाेली सरकार विरूद्ध शक्ति प्रदर्शन !

काठमाडौं । कूशासन, भ्रष्टाचार र अधिनायकवाद विरुद्ध भोली नेपाली कांग्र्रेसले सरकार विरोधी प्रदर्शन गर्ने भनिएपनि भोलीको प्रदर्शन कांग्रेसको शक्ति प्रदर्शनका रुपमा बुझिएको छ । संसदमा प्रमुख प्रतिपक्षको रुपमा रहेपनि शान्त र रचनात्मक बनेको कांग्रेस अब भने सरकार विरुद्ध कडारुपमा सदन र सडकमा प्रस्तुत हुने देखिएको हो । हिँउदे अधिवेशनमा संसदमा कांग्रेसको भूमिका कठोर हुने बताइएको छ ।

देशब्यापी रुपमा कांग्रेसले आब्हान गरेको प्रदर्शनमा आफ्ना जनवर्गीय संगठनहरुलाई कांग्रेसले अग्र मोर्चामा उभ्याउँदैछ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले समेत भोलीको प्रदर्शन सरकारका विरुद्ध शक्ति प्रदर्शन नै रहेको बताएका छन् । उनी भोली मकवानपुरको हेटौंडामा सहभागी हुँदैछन् ।

कांग्रेसका प्रशावशाली नेता गगन थापा कैलालीमा सहभागी हुँदैछन् । कांग्रेस शीर्ष नेताहरु समेत सरकार विरुद्धको प्रदर्शनमा उत्रने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको संबैधानिक निकायको बैठक समेत स्थगित भएको छ ।

कांग्रेस सभापति देउवाले आज विहानै अपिल जारी गर्दै सोमबार हुने देशव्यापी प्रदर्शनमा कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अपील गरेका छन् । सभापति देउवाले प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन भनेका छन् ।

सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ । ‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ ।’ देउवाले भनेका छन् ।

सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा भएको बताउँदै कांग्रेसले जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्रमार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक भएको समेत बताएको छ । ‘नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’ सभापति देउवाको भनाई छ ।

जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? भन्दै कांग्रेसले सरकारका शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्नु वाहेक अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? भन्दै प्रश्न गरेको छ ।

‘महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’, देउवाको सरकारलाई प्रश्न छ ।

मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस भएको भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताएका छन् ।

नेपाल तरुण दलले भोली हुने सरकार विरोधी देशव्यापी प्रदर्शनमा सक्रिय सहभागीता जनाउँदैछ । नेपाली कांग्रेसको प्रमुख शक्तिको रुपमा रहेको तरुण दल केन्द्रीय समितिले ७७ वटै जिल्लालाई परिपत्र गर्दै भोलीको प्रदर्शन व्यापक बनाउन निर्देशन दिएको छ । ‘भोलीको प्रदर्शन नेपाली कांग्रेसको शक्ति प्रदर्शन हैन, सरकारको अधिनायकवाद शेली, भ्रष्टाचार, कूशासनका विरुद्ध हो ।’ तरुण दल केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले भने ।

तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका विरुद्ध स्थानीय प्रशासनले गरेको धरपकड पछि कांग्रेसले सरकारलाई काउन्टर दिने गरी प्रतिपक्षको भूमिका निर्वाह गरेको पाइएको छ । ‘तनहुँ घटना अधिनायकवादको एउटा उदाहरण मात्रै हो, यो सरकारले यस्ता धेरै घटना घटाइसकेको छ । कोरोना महामारीमा जनताको स्वास्थ्य सुरक्षा हेर्न छाडेर आफ्नै घरझगडामा रुमलिने सरकारले अब जनताका पक्षमा काम गर्न सक्दैन ।’ तरुण दल अध्यक्ष बस्नेतले भने ।

भोलीको प्रदर्शनमा कांग्रेसका सबै जसो शीर्ष नेताहरु जिल्ला र क्षेत्रमा सहभागी हुने भएपछि प्रदर्शन व्यापक हुने संकेत देखिएको छ । उनका अनुसार सभापति देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंको प्रदर्शनमा सहभागीता जनाउने छन् । ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमासमेत लिप्त रहेर कोरोना भाइरसमा महामारी नियन्त्रण गर्नसमेत असफल भएको भन्दै कांग्रेस सडकमा उत्रिन लागेको हो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले भक्तपुरमा सहभागी हुँदा महामन्त्री डा.शशांक कोइराला १ नं. प्रदेशको विराटनगरमा सहभागी हुनेछन् । कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरीमा सहभागी हुनेछन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको प्रदर्शनमा सहभागी हुन्छन् । केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, कास्की, डा. रामशरण महत चितवन, गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछामबाट प्रदर्शनमा सहभागी हुँदा चित्रलेखा यादवले सप्तरीमा सहभागी हुने कार्यक्रम छ ।

प्रतिक्रिया