नेकपा स्थायी कमिटी बैठकः मुठभेडकै मुडमा नेताहरू !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि गत आइतबार बसेको स्थायी कमिटी बैठक दुवै अध्यक्षका प्रस्ताव तथा पत्र अध्ययन र अनौपचारिक संवाद गर्ने भन्दै आजसम्मका लागि स्थगित भएको थियो ।

तर, पार्टीमा गहिरिँदो संकट समाधानका लागि अनौपचारिक संवाद गर्ने भनेर स्थायी कमिटी स्थगित गरिएपनि यस अवधिमा खासै प्रगति हुन सकेन । एक सातामा सहमति जुटाउने सघन संवादमा भन्दा नेताहरु एकअर्का समूहविरुद्ध रणनीति बनाउने तयारीमा जुटे । गएको आइतबारदेखि शनिबारसम्म प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एकपटक अनौपचारिक संवाद भए पनि विवाद समाधानका लागि शीर्ष तहमा अरु कुनै भेट भएका छैनन् ।

बरु, यसबीचमा समूहगत छलफल र भेला भएका छन् । दुवैतिरका जनवर्गीय संगठन र प्रदेश कमिटीहरूको गोप्य र खुलमखुला भेला भइरहेका छन् । यसरी समानान्तर छलफल हुनुको पछाडि अब पार्टीमा बहुमतकै निर्णय हुन्छ र तल्ला कमिटीका आफ्ना निकटस्थलाई मानसिक रूपमा तयार पार्नुपर्छ भन्नेमा उनीहरू पुगेको देखिन्छ ।

दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने नहुने निश्चित छैन । यसअघि मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली सहभागी भएका थिएनन् । तर प्रचण्ड–नेपाल पक्षले भने प्रधानमन्त्री ओली बैठकमा सहभागी नभएपछि बैठक अघि बढाउने तयारी गरेका छन् ।

आज बस्ने बैठकमा यसअघि प्रस्तुत भएका दुवै अध्यक्षका प्रतिवेदनमाथि सदस्यहरुले बोल्ने क्रम सुरु हुने बताइएको छ । यद्यपी बैठकमा कुनै एजेण्डा तय नभएको स्थायी कमिटी सदस्यहरुले जनाएका छन् ।

प्रतिक्रिया