इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामको पूनरागमन जीत

एजेन्सी । वेस्ट ह्याम युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडमाथि उसकै मैदानमा २–१ को पूनरागमन जित निकालेको छ ।

इललान्ड रोड लिड्समा शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको छैटौं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा बामफोर्डलाई पेनाल्टी बक्समा गोलरक्षक लुकास्ज फावियान्स्कीले लडाएपछि प्राप्त पेनाल्टीमा मेटअस्ज क्लिचको नै पेनाल्टीमा गोलरक्षकले लाइन क्रस गरेपछि रि पेनाल्टीमा क्लिचले नै गोल गर्न सफल भएका थिए ।

१०औं मिनेटमा हालेरले सुवर्ण अवसर खेर फाल्दा वेस्ट ह्याम बराबरीबाट चुक्यो । २५औं मिनेटमा टोमास सौसेकले जारोड बोवेनको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ४७औं मिनेटमा बामफोर्ड चुक्दा लिड्सले अग्रता बढाउन सकेन । ५३औं मिनेटमा हालेरको प्रहारलाई एयलिङले ब्लक गर्दै वेस्ट ह्यामको अग्रता टारे ।

६८औं मिनेटमा बेनरामाले २० यार्डबाट गरेको प्रहारलाई लिड्सका गोलरक्षक मेसलिएरले डाइभ दिदै बचाउने कोसिस गरेपनि उनको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ७७औं मिनेटमा गोलरक्षक मेसलिएरले बेलवुएनाको शक्तिशाली हेडरलाई उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीकै अवस्थामा राखे ।

८०औं मिनेटमा एन्जेलो ओग्वोन्नाले आरोन क्रेसवेलको पासमा गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । त्यसपछि पनि वेस्ट ह्यामले दुई सुवर्ण अवसर खेर फालेको थियो ।

यो जितसँगै वेस्ट ह्याम १२ खेलबाट २० अंक जोडेर पाँचौ स्थानमा उक्लदा लिड्स १४ अंकसहित १४औं स्थानमा रहेको छ ।

प्रतिक्रिया