काठमाडाैंका मेयरकाे स्वीकाराेक्ति : ‘निर्वाचनताका गरिएका प्रतिबद्धता पुरा गर्न सकिएन’

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु शुरु गर्न नसकेको स्वीकार गरेका छन् ।

मेयर शाक्यले विभिन्न विवादका कारण काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तराष्ट्रिय स्तरको मेगा हल लगायतका परियोजना शुरु गर्न नसकिएको बताए ।

काठमाडौं महानगरपालिकाको हरि भवन पुननिर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण शुरु गर्न नसकिएको स्पष्ट पार्दै अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएको उनले दाबी गरे । महानगरबासीलाई एउटै भवनबाट सेवा दिने प्रतिबद्धता जनाएको तर अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको उनले बताए ।

यस्तै काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको मेगा हल निर्माण गर्ने योजना पनि महानगरपालिकाको छ । काठमाडौंको भृकुटी मण्डपमा बनाउने भनिएपनि महानगरपालिकाको स्वामित्वमा भृकुटीमण्डप नहुँदा काम गर्न नसकिएको उनकाे भनाइ छ । सहमतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिएपनि निर्णय नहुँदा मेगा हल निर्माण गर्न नसकिएको उनले बताए ।

काम गर्न खोज्दा-खोज्दै पनि विरोध गर्ने प्रवृत्तिले गर्दा आयोजनाहरुलाई अगाडि बढाउन समस्या हुने गरेको उनकाे गुनासाे छ । कुनैपनि कामको विरोध गर्ने प्रवृतिलाई धर्मको रुपमा लिने र विरोध गरी असफल बनाई आफू सफल हुन खोज्ने मानसिकताले गर्दा पनि समस्या भएको उनले बताए ।

प्रतिक्रिया