डेढ दशकदेखि जसको वरीपरी नेपाली राजनीति घुमिरहेछ…

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आफ्नो ६६औं जन्मोत्सव मनाउँदैछन् । एउटा कथन छ– कतिऔं जन्मदिनले होइन, के प्राप्तिपछिको जन्मदिन ? भन्ने कुराले व्यक्तिको जीवनमा अर्थ राख्छ । त्यसो त प्रचण्डको जीवनमा थुप्रै खासगरी राजनीतिक उत्तरचढाव अनि आरोह–अवरोहहरु भएका छन् । यहाँ संक्षिप्त रुपमा मूलतः प्रचण्डले आफ्नो जीवनको ६६ वर्षसम्ममा कस्तो राजनीतिक जीवन जिए भन्ने विषयबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ मा विसं २०११ मङ्सिर २६ गते (अर्थात् : आजकै दिन) जन्मेका दाहाल गणतन्त्र नेपालको पहिलो नवनिर्वाचित प्रधानमन्त्री थिए । दाहाल सानै छँदा उनको परिवार कास्कीबाट चितवन बसाइँ सरेको थियो ।

लामो समयको राजनीतिक सहकर्मी डा. बाबुराम भट्टराईसँगै दाहालले विसं २०२६ सालमा एसएलसी पास गरेका थिए । त्यसपछि उनले विभिन्न विषय भिन्न विद्यालयहरुमा पढ्दै गर्दा विसं २०३३ सालदेखि २०३५ सालसम्म गोरखाको आरुघाटमा एक विद्यालयमा अध्यापन गर्न थाले । जहाँ खिलराज रेग्मी सरकारका संस्कृति पर्यटनमन्त्री रहेका रामकुमार श्रेष्ठ प्रधानाध्यापक थिए ।

अध्यापनकै क्रममा प्रचण्ड विसं २०३८ सालमा नेकपाको पूर्णकालीन सदस्यता लिएर अध्यापन र राजनीतिलाई सँगसँगै अगाडि बढाए । यद्यपि प्रचण्डमा विसं २०२८ सालमा नै वामपन्थी राजनीतिको छाप परिसकेको थियो भनेर उनैले नै धेरै अन्तरवार्ताहरुमा भनेका छन् ।

तत्पश्चात् चितवनमा रहँदा धनबहादुर विक र रूपलाल विश्वकर्मासँगको सङ्गतका कारण पनि प्रचण्डको राजनीतिक मोह झनै चुलिएर गयो । विसं २०३५ सालदेखि प्रचण्डले पूर्णकालीन तथा भूमिगत जीवन शुरु गरे । त्यसपछि उनको सम्पर्क कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग भयो । नेकपाको चौंथो महाधिवेशनपछि भक्तबहादुर श्रेष्ठसँग प्रचण्डनिकट रहे ।
त्यसपछि विसं २०३९ सालमा निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्डले मोहनविक्रम समूहमा लागे । मोहनविक्रमसँग विवाद भएपछि प्रचण्ड मोहन वैद्यसँग नजिक हुन पुगे, जतिबेला वैद्य मोहनविक्रमबाट छुिट्टएर नेकपा ‘मशाल’ (मोटो मशाल)का महामन्त्री भइसकेका थिए ।

०४२ सालमा मोटो मशालले गोप्य ढंगले सशस्त्र विद्रोहको तयार गरेको थियो । सो सूचना प्रहरीले पाएपछि मशालका दर्जनौं कार्यकर्ता पक्राउ परे । यसलाई माओवादीहरू सेक्टर काण्डको रूपमा स्मरण अझै गर्छन् । सेक्टर काण्डपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिइ प्रचण्डलाई पार्टीको महामन्त्री पद जिम्मा लगाए । त्यसयता प्रचण्ड लगातार माओवादीको नेतृत्वमा रहे । अहिले पनि नेकपा (पूर्वएमाले र माओवादीबीच गठबन्धन)को नेतृत्व पङ्तिमै छन् ।

विसं २०४६ सालको जनआन्दोलनपछि चार कम्युनिष्ट पार्टीहरू ‘मशाल’, चौंथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मशाल मिलेर नेकपा (एकता केन्द्र) बन्यो । प्रचण्ड महामन्त्री बने । सशस्त्र संघर्षमा जाने नजाने विवादका कारण नेकपा एकता केन्द्र विभाजित भयो, प्रचण्डहरुले माओवादीको नाममा जनयुद्ध शुरु गरे । नारायणकाजी समूह सशस्त्र संघर्षमा जान मानेन, जनमोर्चाको रूपमा सक्रिय भयो । त्यसपछि विसं ०५२ मा सशस्त्र ‘जनयुद्ध’ थाल्नुभन्दा केही समयअघि प्रचण्डले गोरखाको गाइपुरमा केही युवालाई सैन्य तालिम दिएका थिए ।

माओवादी सशस्त्र संघर्षमै रहेको समयमा विसं २०५७ सालमा प्रचण्ड नेकपा माओवादीको अध्यक्षमा निर्वाचित भए । त्यसपछि प्रचण्ड नेतृत्वको माओवादीले देशमा एक दशकसम्म सशस्त्र संघर्षको नेतृत्व गर्यो । विसं २०५७ सालमा भारतको जालन्धरमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले ‘प्रचण्डपथ’को राजनीतिक सिद्धान्त पारित गर्यो । सोहीअनुरूप माओवादीले विसं २०५८ सालमा आफ्नो छुट्टै ‘जनमुक्ति सेना’ गठन गर्यो, जसको सुप्रिम कमान्डर प्रचण्डलाई नै बनाइयो । माओवादीको जनसेनाका केही लडाकू नेपाली सेनामा विलय भए ।

विसं २०६२ साल मङ्सिरमा संसदवादी दलसँग सातबुँदे सहमतिमार्फत् संविधान सभा निर्वाचन गर्ने शर्तमा प्रचण्ड विसं २०६३ साल असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा सार्वजनिक भएका थिए ।

विसं २०६४ साल चैत्र २८ गते सम्पन्न संविधान सभा निर्वाचनमा प्रचण्ड काठमाडौं १० र रोल्पा २ बाट निर्वाचित भए ।

त्यसपछि विसं २०६५ साल साउन ३१ गते प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री र दोस्रो कम्युनिष्ट प्रधानमन्त्रीको रूपमा निर्वाचित भए । सेनापति रुक्माङ्गद कटुवाल प्रकरणमा तत्कालीन राष्ट्रपति डा. रामबरण यादवसँग विवाद बढेपछि प्रचण्डले विसं २०६६ वैशाखमा प्रधानमन्त्री पदबाट राजीनामा दिए ।

विसं २०७० सालको संविधानसभा निर्वाचनमा प्रचण्ड सिराहा ५ बाट विजयी भए । तर, काठमाडौं १० बाट भने पराजित भए । नेपाली कांग्रेससहित केही साना दलको समर्थनमा विसं २०७३ साउन १९ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्ने मौका पाए ।

यसपछि नेपाली राजनीतिको विभिन्न कालखण्डहरु उसैगरी गुज्रिँदै गए । विसं २०७४ साल फागुन ७ गते आएर दुई फरक कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमतिसहित गठबन्धन भयो । एकतापछि नेपालमा मात्रै नभएर अन्य छिमेकी देशहरुबाट पनि नेपालमा दुई कम्युनिष्ट पार्टीहरुले एकता गरेर इतिहासमा दर्ज हुने काम गरेको भनी सकारात्मक टिप्पणीहरु आए ।

त्यसपछि सिर्जित राजनीतिक समस्याहरुले जस्तो सन्देश दिएपनि एकताताका दुई कम्युनिष्ट पार्टीले सकारात्मक सन्देश दिएको देशी–विदेशी टिप्पणीहरु आएकै हुन् । त्यसपछिको तीन तहको निर्वाचनमा गठबन्धित दुई पार्टी (नेकपा)ले झण्डै दुईतिहाइ मत पनि पायो । नेकपालाई सरकार गठन गर्ने सौभाग्य आइपुग्यो । पाँच वर्षे कार्यकालमा ३०/३० महिना प्रधानमन्त्री बन्ने सर्तसहित पहिलो प्रधानमन्त्री पूर्वएमालेका अध्यक्ष केपी शर्मा ओली भए । तर, पछि पुनः केपी ओली पाँचै वर्ष प्रधानमन्त्री बन्ने र दाहाललाई पार्टी सञ्चालको पूर्ण अधिकारसहित कार्यकारी अध्यक्ष बन्ने सहमति भयो । सोहीअनुसार अहिले ओली नै प्रधानमन्त्री र प्रचण्ड कार्यकारी अध्यक्ष छन् ।

खास–खास रुपमा दाहालले यसरी आफ्नो राजनीतिक जीवनलाई व्यातित गरिरहेका छन् । प्रचण्डलाई अत्यन्त तेजिलो स्मरणशक्ति भएका र प्रखर वक्ताका रुपमा चित्रण गरिन्छन् । भारतीय पत्रकार अनिर्वाण रोयले दाहालको जीवनीमा आधारित ‘प्रचण्ड एक अज्ञात विद्रोही’ नामक पुस्तकसमेत प्रकाशन गरेका छन् ।

नेपाली राजनीतिका एक युग प्रचण्डलाई जन्मदिनको शुभकामना ।

नोटः प्रचण्डबारेको विविध जानकारी विकिपिडिया, विभिन्न लेख तथा पुस्तकहरुबाट लिएका हौं–सम्पादक

 

प्रतिक्रिया