पाँच लाखमा बलात्कार घटनाकाे मिलापत्र गराउने ६ जना पक्राउ

काठमाडाैं । माेरङमा पीडितलाई पाँच लाख दिएर जबरजस्ती करणी मुद्दा मिलाएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

गएकाे भदौ २४ गते मोरङ धनपालथान गाउँपालिका-५ स्थित खेतमा मल छर्ने क्रममा बेलबारी नगरपालिका-८ का ३२ वर्षीय सुरेश खवासले २१ वर्षीय युवतीलाई बलात्कार गरेका थिए । 

बलात्कारपछि उनीविरूद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी परेकाे थियाे । जाहेरीपछि फरार भएका खवासलाई इलाका प्रहरी कार्यालय रंगेलीले मंसिर १९ गते रंगेली नगरपालिका वडा नं. ७ बाट पक्राउ गरेकाे थियाे । अनुसन्धानका क्रममा उनी फरार रहेकै अवस्थामा आफन्त र गाउँलेहरुले पीडितसँग मिलापत्र गराएकाे खुलेकाे हाे । 

साेही घटनाकाे मिलापत्र आरोपमा मोरङ धनपालथान गाउँपालिका-५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास, कलकनु खवास, रंगेली नगरपालिका वडा नं. १ का जगतनारायण खवास र बेलबारी नगरपालिका वडा नं. ८ का ५३ को मथालु खवासलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएकाे हाे । उनीहरूकाे साथबाट मिलापत्रकाे कागज समेत बरामद भएकाे छ । 

उनीहरूलाई आफ्नै घरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया