सरकारकै कारण राजावादी र विप्लव समूह सक्रिय

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । विहिबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकमा विप्लव समूहद्वारा शिक्षक हत्यादेखि राजावादीको प्रदर्शनसम्मका घटनाको विषयमा छलफल भएको थियो । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा उठाएर विप्लवदेखि राजावादीसम्म सक्रिय बनेको उसको निष्कर्ष छ । सरकारलाई खबरदारी गर्न अब सडक प्रदर्शन गर्ने सो बैठकले निर्णय पनि गर्यो ।

सरकारका गलत कदमविरुद्ध मंसिर २९ गते देशैभरि प्रभावकारी सडक प्रदर्शन गर्ने र त्यसलाई निरन्तरता दिने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार बैठकले मंसिर २९ को ७७ वटै जिल्लामा हुने सडक प्रदर्शनमा सहभागी बन्न सबै लोकतन्त्रप्रेमी नागरिकलाई आग्रह गरेको छ ।

विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह
कांग्रेसले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेको छ । कांग्रेसले मोरङमा भएको शिक्षक हत्याको विरोध र दोषीलाई कारबाहीको माग गर्दै हिंसाको बाटोमा अघि नबढ्न विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको हो ।

‘मोरङमा बर्बर ढंगले भएको शिक्षक हत्याको विरोध गर्दछौँ, र दोषीलाई कडा कारबाहीको माग गर्दछौँ,’ प्रवक्ता शर्माले भने, ‘व्यक्तिहत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन हाम्रो आग्रह छ ।’

बैठकले शिक्षक श्रेष्ठको हत्यामा संलग्नलाई कानून बमोजिम कारबाहीको माग पनि गरेको छ । ‘उक्त घटना असाध्यै निर्मम घटना हो,’ उनले भने, ‘राज्यको व्यवस्थाप्रति असन्तुष्ट भएर निर्दोष जनतालाई दुख दिने, व्यक्ति हत्यामै उत्रिनु सही होइन । कांग्रेसले उक्त घटनामा संलग्नलाई कानुनअनुसार कारबाहीको माग गरेको छ ।’

विप्लव समूहले सुराकी गरेको भन्दै मिक्लाजुङ गाउँपालिका-१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको सोमबार अपहरणपछि हत्या गरेको थियो ।

प्रतिक्रिया